लामिछानेमाथिको अनुसन्धान सकियो, आत्महत्या गर्न दुरुत्साहनको अभियोगमा मुद्दा शुरू गर्ने प्रहरीको भनाइ

लामिछानेमाथिको अनुसन्धान सकियो, आत्महत्या गर्न दुरुत्साहनको अभियोगमा मुद्दा शुरू गर्ने प्रहरीको भनाइ
आइतवार, भदौ ८, २०७६

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की माथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए ।

अनुसन्धानका क्रममा घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाइ थियो ।

अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।

मुद्दामा तीन प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निर्क्याैल अदालतले गर्ने बताए । सरकारी वकिलले आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तलाई पेश गरेको थियो ।

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ । लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् ।