भद्रगोल नेपाल भ्रमण बर्ष २०२० : नआउने भए २० लाख पर्यटक

title
आइतवार, भदौ ८, २०७६

सन्तोष विके थापा

सरकारले लिएको २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना पुरा नहुने देखिएको छ ।

२०७४ साउन २९ गतेको मन्त्रिपरिषद् निर्णयानुसार पर्यटन मन्त्रालयले सन २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाएर २० पर्यटक नेपाल भित्राउने लक्ष्य सरकारले लिएको थियो । भम्रण बर्ष अगाबै पूर्वाधार निर्माण तथा गन्तव्य छनौट गरिसक्नु पर्ने भएपनि अहिलेसम्मको तयारी हेर्दा सरकारले लिएको महत्वाकांक्षी लक्ष्य पुरा हुन नसक्ने भएको हो ।

प्राकृतिक सौन्दर्य बाहेक पर्यटकले चासो राख्ने रितिआवाज, परम्परा, पुराना एतिहासिक सम्पदा, र कलाकौशलको उचित व्यवस्थापन भएको छैन । ऐतिहासिक र पुरातात्विक पूर्वाधार अझै टेकोको भरमा अडिएका छन् । भुकम्पपछिको पुनर्निर्माणमा सरकार उदासिन देखिदाँ निर्माण थालिएका सम्पदा पनि अलपत्र छन् ।

यस्तो अवस्थामा भ्रमणवर्ष भद्रगोल नै हुने देखिएको पूर्वाधारविद् सुर्यराज आचार्यको भनाइ रहेको छ । “आचार्यका अनुसार अहिले आउने अधिकांश प्रर्यटकहरु हवाईमार्ग भएर मात्रै नेपाल भित्रिन सक्ने व्यवस्था छ । त्यो पनि मर्मतसम्भारकै चरणमा भएकाले लक्ष्य अनुसारको पर्यटक नेपाल भित्रीनेमा विश्वस्त नभएको जिकिर गरे ।

देशको राजधानीमा भएको एउटा मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै पूर्णरुपले मर्मतसम्भार भएको छैन । त्यसका विकल्पमा रहेका अरु विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छैन । देशको राजधानी जस्तो ठाउँमा अलिकति बर्षात हुन वित्तिकै रोपाई गर्ने जस्तो हिलाम्मे र घाम लाग्न वित्तीकै धुलाम्मे हुने सडकहरु छन् । अधिकाशं समयमा काठमाडौंको पर्यावरण नै धुँवा धुलोले ढाकिएको हुन्छ ।

सरकारले लिएको लक्ष्य हासिल गर्न दैनिक ५ हजार पाँच सय पर्यटक नेपाल भित्रीनुपर्छ । तर अहिले दैनिक ३ हजार ७ सय पर्यटक मात्रै नेपाल आउने गरेका छन् । सन २०१९ को पछिल्लो ४ महिनाको तथ्यांक हेर्दा ४ लाख ४५ हजार पर्यटक भित्रिएका छन् । भ्रमण बर्षको लक्ष्य हासिल गर्न पर्यटकको आगमन पहिले भन्दा दोब्बर हुनुपर्छ । तर, भ्रमण बर्षको सम्मुखमा आईसक्दा पनि पर्यटकिय आर्कषणका लागि सरकारले गरेको तयारी हेर्दा पहिले आउने पर्यटकको साख जोगाउनै मुस्किल पर्ने भएको हो ।

उता नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले भ्रमण बर्षलाई लक्षीत गरी पूर्वाधारमा सरकार चुकेको स्वीकार गरेका छन् । उनले सरकारले लिएको लक्ष्य भेट्याउनका लागि सवैको सहयोग आवश्यक रहेको भन्दै सरकारलाई सहयोग गर्न अपिल गरेका छन् ।

भ्रमण बर्षको मुखमा आएर भिसा शुल्क बृद्धि पनि अर्काे कारण बनेको छ । सगरमाथामा फोहोर, ट्राफिक जाम, आरोहणमा हुने मृत्यु, अव्यवस्थित तथा कुरुप पदमार्ग र फेक रेस्क्युका कारण नेपालको पर्यटन विश्वबजारमा बद्नाम हुदै गएको छ । सरकारले घोषणा मात्रै गर्नै तर कार्यान्वयनमा उदासिन देखिने प्रवृत्तिले भ्रमण बर्ष सफल होला र २० लाख पर्यटक भित्राउने लक्ष्यले सार्थकता पाउला भन्नेमा विश्वस्त हुने अवस्था निकै न्युन छ ।

घोषणाले मात्र होइन व्यवहारले पनि पर्यटन प्रबर्धनका क्षेत्रमा काम गर्न सके नेपाल भ्रमणवर्षलाई व्यवस्थित बनाउन सकिन्छ । नत्र यो भद्रगोल बर्ष हुने निश्चि छ ।