८८ करोड कर छल्ने गोर्खा ब्रुअरीको अर्को काण्ड : टुवोर्ग वियर गुणस्तरहीन रहेको खुलासा

दुई न्यायाधीश चट

title
सोमवार, भदौ ९, २०७६

काठमाडौं- काल्सवर्ग,  टुवोर्ग, गोर्खा लगायत वियर उत्पादन गर्ने कम्पनी गोर्खा ब्रुअरी प्रा.लि.को करछली प्रकरण सँगै अर्को कर्तुत खुलेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमबाट गोर्खा ब्रुअरीको उत्पादन टुवोर्ग वियर गुणस्तरहिन भएको भेटिएको हो।

विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार, विभागले गत बैशाख ६ गते गोर्खा ब्रुअरीको नवलपरासीस्थित उद्योगमा अनुगमन गरि नमुना संकलन गरेर परिक्षण गरेको थियो। परीक्षणका क्रममा ५ सय एमएलको टुबोर्ग स्ट्रोङ क्यान वियर गुणस्तरहिन भएको भेटिएको हो।

‘परीक्षणका क्रममा क्यान वियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरुप नभएको पाइएको छ,’ महानिर्देशक पुडासैनीले भने, ‘अर्कातिर लेभलमा ५ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको टुबोर्ग बियरको बोतलको परीक्षण गर्दा ४ दशमलव ५ प्रतिशत भन्दा कम पाइएको छ।

अल्कोहलको प्रतिशत कम भएकाले गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण समेत सोधेको थियो। तर, गोर्खा ब्रुअरीले  अल्कोहलको मात्रा पुगेको छ भनेर दाबी गरेपछि विभागले बजारबाट थप नमुना संकलन गरी परीक्षण गरीरहेको छ।

मापदण्ड पुरा नगर्नेलाई के हुन्छ कारवाही?

नेपाल गुणस्तर प्रमाण चिन्ह ऐनमा सम्बन्धित गुणस्तर अनुरुप प्रमाणीकरण गराएर उद्योगले मापदण्ड सुनिश्चित गर्नुपर्ने प्रावधान छ। महानिर्देशक पुडासैनीका अनुसार  त्यो मापदण्ड पुरा गरेपछि मात्र कुनै कम्पनीले आफ्नो उत्पादन बजारमा बिक्री वितरण गर्न पाउँनेछ। तर, त्यो कम्पनीले गुणस्तरले तोकेको आवश्यकता वा मापदण्ड नियतवश नपुर्‍याएको अवस्थामा सहजै बिक्री वितरणमा रोक लगाउने अधिकार गुणस्तर विभागलाई छ।

यदि थप अनुसन्धानको क्रममा फेरि गल्ति भेटे वा नियत देखिएमा भने इजाजत पत्र निलम्बन वा रद्ध गर्ने विभागका महानिर्देशक पुडासैनीले बताए।

८८ करोडको कर छली काण्डमा दुई न्यायाधीश चट

गोर्खा ब्रुअरी अहिले करछली काण्डमा समेत मुछिएको छ। आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार, गोर्खाले ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ कर तिरेको छैन।

कार्यालयले कर तिर्न पटक-पटक ताकेता गरेपछि गोर्खा ब्रुअरीले करको दायित्वबाट भाग्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेको थियो। पोखराका न्यायाधीशत्रय जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवले कर छुटको फैसला गरेपछि फैसला विवादिन बनेको थियो।

उच्च अदालत पाटनले हेर्नुपर्ने मुद्दा क्षेत्राधिकार मिचेर पोखराले हेरेको भन्दै फैसाल लगत्तै उजुरी परेपछि न्याय परिषद्ले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानविन समिति गठन गरी छानविन थालेको छ।

न्यायपरिषदको छानविन सुरु भएपछि कारवाहीबाट बच्नकै लागि न्यायाधीशद्वय जीवनहरी अधिकारी र रामचन्द्र यादवले राजीनामा दिएका छन्।  छानविनकै क्रममा राजीनामा दिनुलाई विज्ञहरुले भने गोर्खा ब्रुअरी सँगको मिलेमतोको आशंकामा थपिएको तथ्यका रुपमा विश्लेषण गरेका छन्।