ब्राजिलले जी सेभेनका राष्ट्रले गर्ने सहयोग नलिने

ब्राजिलले जी सेभेनका राष्ट्रले गर्ने सहयोग नलिने
मङ्लबार, भदौ १०, २०७६

काठमाडौं– जी सेभेन सम्मेलन राष्ट्रहरुले अमेजन जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न दिने सहयोग ब्राजिलले अस्वीकार गरेको छ ।

ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारो जी सेभेन सम्मलेनमा सहभागी राष्ट्रले सहयोगका नाममा ब्राजिल र अमेजन क्षेत्रलाई उपनिवेशका रुपमा प्रयोग गर्ने भन्दै सहयोग अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

ब्राजिलले सकेसम्म आफ्नै श्रोत साधन प्रयोग गर्दै अमेजन जङ्गललाई बचाउने दाबी गरेको छ । जी सेभेन सम्मेलनमा सहभागी सबै राष्ट्र मिलेर ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न दुई करोड अमेरिकी डलर सहयोग गर्ने फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले घोषणा गरेका थिए ।

त्यस बाहेक बेलायतले छुट्टै एक करोड बीस लाख अमेरिकी डलर र क्यानडाले छुट्टै एक कारोड दस लाख अमेरिकी डलर सहयोग गर्ने जनाएका छन् । तर, ब्राजिलका वातावरण मन्त्री रिकार्डो साल्सले वर्तमान समस्या हटाउन प्राप्त सहयोगहरु स्वागत योग्य भएको बताएका छन् ।

विश्वकै सबैभन्दा ठुलो अमेजन जङ्गलले जलवायु परिवर्तनको समस्यालाई नियन्त्रण गर्न मुख्य भूमिका खेल्ने भएकाले यो समस्या समाधान गर्न विश्वका विभिन्न राष्ट्रहरु अग्रसर भएका छन् ।