तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक

title
बुधबार, भदौ १८, २०७६

इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ । व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेतीजस्तै काउली, करेला, भण्टा, मुला, ओललगायतको खेती गर्दै आएको उहाँको भनाइ छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृतको रुपमा तृपितनारायण मिश्र आएपछि तरकारी खेतीका विषयमा व्यावसायिक ज्ञान र प्राविधिक सहयोग गरेपछि अहिले आफूले चार बिघामा तरकारी खेती गर्दै आएको यादवको भनाइ छ । विसं २०६३ मा अधिकृत मिश्रले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गर्नुभयो । उहाँको आग्रहलाई स्वीकार गर्दै गोपीकृष्ण फलफूल कृषक समूह गठन गरेर आफूले कृषिमा अब व्यावसायिक बन्नुपर्छ भने हिसाबले लागेको उहाँले स्मरण गर्नुभयो ।

कृषक समूहको गठन गरेसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानको कार्यक्रम दिन थालेपछि आफूहरुलाई झन् कृषि पेशामा लाग्न पे्ररित ग¥यो र अहिले आएर त्यसैको फलस्वरुप झुपडी तथा सात कठ्ठबाट शुरु गरेको तकारी खेतीले चार बिघा जग्गा लिएर तरकारी खेती गर्दै आएको उहाँको भनाइ छ । तरकारी खेतीबाट वार्षिकरूपमा रु १० देखि १२ लाख आम्दानी गर्दै आएको यादवले बताउनुभयो ।

उहाँजस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का रामवृक्ष मेहताले दुईदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको थियो । तर, अहिले उहाँ १० बिघामा तरकारी खेती गर्दै आउनुभएको छ । जग्गा अभाव, आर्थिक अवस्था कमजोर र ज्ञानका अभावका कारण दुईदेखि पाँच कठ्ठामा निर्वाहमुखी तरकारी खेती गर्दै आएको उहाँले सम्झिनुभयो । उहाँलाई पनि विसं २०६० मा कार्यालयका बागवानी विकास अधिकृतले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गर्नुभएको स्मरण गर्नुभयो ।

उहाँको आग्रहलाई स्वीकार गर्दै अनुपम तरकारी तथा फलफूल कृषक समूह गठन गरेको मेहताले बताउनुभयो । कृषक समूह गठन गरेपछि कार्यालयबाट विभिन्न किसिमको अनुदान आउन थालेपछि व्यावसायिक तरकारी खेती गर्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । अहिले तरकारी खेतीबाटै १० बिघा जग्गा किनेर त्यसमा व्यावसायिक तरकारी खेती गर्दै आएको मेहताको भनाइ छ ।

आफूले अहिले चार बिघामा ओलखेती, १० कठ्ठामा परवल, १० कठ्ठामा पिँडालु, १० कठ्ठामा बैगुनलगायत गरेर १० बिघामा तरकारी खेती गर्दै आएको मेहताले बताउनुभयो । तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएको उहाँको भनाइ छ । शुरुमा खानलागाउनका लागि समस्या हुँदै आएकामा तरकारी खेतीले नै अँध्यारोमा रहेको जिवनलाई उज्यालोतर्फ ल्याएकामा उहाँले हर्ष व्यक्त गर्नुभयो ।

तरकारी खेतीबाट आएको आम्दानीले अहिले विराटनगर, इनरुवा गाउँमा जग्गा जोड्नुका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएको मेहताको भनाइ छ । उहाँजस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का चन्दन मेहताको भनाइ पनि उस्तै छ । उहाँले पनि पहिले तीन कठ्ठामा निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएकामा अहिले आएर तीन बिघामा तकारी खेती गर्दै आउनुभएको छ ।

व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानका अभावका कारण निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । तर ज्ञान प्राप्त भएपछि विस्तारै उहाँले व्यावसायिक तरकारी खेती गर्न शुरु गर्नुभयो । तरकारी खेतीबाटै आफूले वार्षिकरूपमा खर्च कटाएर रु १० लाखसम्मको आम्दानी गर्दै आएको उहाँको भनाइ छ । यी तीन जना त सुनसरीका लागि उदाहरणका पत्रमात्र हुनुहुन्छ । उहाँहरुजस्तै जिल्लामा करीब तीन हजारभन्दा बढी कृषक तरकारी खेती गर्दै आएका छन् ।

तरकारी खेती गर्ने कृषकको सङ्ख्या बढदै गएपछि जिल्लामा तरकरी खेतीबाट कृषकले सोचेअनुसारको आम्दानी गर्नसमेत सफल भएका छन् । पर्याप्त मात्रामा मलखाद्य नपाउनु, समयमा मजदुर नभेट्नु र बजारमा तरकारीको उचित मूल्य नपाउनुलगायतका विभिन्न समस्याका कारण आफूहरुलाई समस्या हुने गरेको तरकारी कृषक मेहताले बताउनुभयो ।

जिल्लामा वार्षिकरुपमा रु एक अर्बभन्दा बढीको तरकारीको कारोवार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताउनुभयो । सुनसरीमा विसं २०५३ मा ५१२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हँुदै आएकामा अहिले तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हँुदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।