टिकट बिक्री नभएपछि वायुसेवा निगमका तीनवटा जापान उडान रद्द

title
बुधबार, भदौ १८, २०७६

काठमाडौँ- नेपाल वायुसेवा निगमको जापान उडानमा पहिलो गाँसमै ढु‌गा लागेको छ। निगमको वाणिज्य महाशाखाले टिकट बिक्री गर्न नसकेपछि बाइडबडीबाट काठमाडौं-ओसाका-काठमाडौंका लागि तोकिएका ३ वटा उडान रद्द भएका हुन्।
निगमका अनुसार, भदौ १९, २६ र असोज २ गतेका लागि नियमित सेड्युलका ३ वटा उडान रद्द गरेको छ।
सातामा ३ दिन हुने उडान २ दिनमा झारिएको छ भने यसको जानकारी जापानस्थित सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई समेत दिइसकेको छ।
जापानमा उडान रद्द गर्दा जानकारी दिनुपर्ने नियमका कारण निगमले जानकारी दिएको हो।

निगमको वाणिज्य महाशाखाले ओसाका उडानको बजारीकरण, टिकट बिक्री लगायतका कार्य गर्न असफल भएका कारण उडान रद्द गरिएको निगम स्रोतले जनाएको छ।
महाशाखाले यसअघि हचुवाका भरमा असारदेखि ओसाका उडानको घोषणा गरेकोपनि अन्तिम समयमा त्यसबेला घोषणा गरिएको तालिका पनि रद्द गरिएको थियो।
निगमको वाणिज्य महाशाखाले टिकट बिक्रीमा योगदान पुर्‍याउने अपेक्षा सहित पहिलो उडानमा २० जना नेपाली ट्राभल एजेन्टलाई सित्तैमा जापान घुमाएर ल्याएको थियो।

२ सय ७४ सिट क्षमताको जहाजमा एक दर्जन हाराहारी पनि टिकट बिक्री गराउन नसकेको भन्दै निगममै बाणिज्य महाशाखाप्रति टिप्पणी सुरु भएको छ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन दिन नियमित उडान घोषणा गरेको थियो। निगमले भदौं १२ गते पहिलो उडान गर्दा ८२ यात्रु र ४९ जनाको सरकारी टोलीलाई ओसाका लगेको थियो।