कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने

कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने
बिहिबार, भदौ १९, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले दोस्रो चरणको जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको हो ।

१५ दिनसम्म चल्ने जागरण अभियानको १५ उद्देश्य रहेको र एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने जानकारी पनि कांग्रेसले दिएको छ । कांग्रेसले जनतालाई सरकारका असफलताका बारेमा जानकारी दिन र सामाजिक सम्वादमार्फत जनमत बुझ्न पनि जागरण अभियान सञ्चालन गरेको बताएको छ ।

जागरण अभियानकै दौरान असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने जनाएको छ । त्यसैगरी जागरण अभियानमार्फत नयाँ सदस्यता वितरण र स्वयंसेवक दल गठन गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ । पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेनद्र निधिले दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस एकढिक्का भएको सन्देश पनि प्रवाह गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेताहरुले पार्टीको पहिलो चरणको जागरण अभियानका दौरान ३१ हजार ६ सय ४४ जनाले पार्टीको सदस्यता लिएको जानकारी दिएका थिए ।