विश्वकप फुटबलको छनोट खेलमा नेपाल पराजित, नेपालविरुद्ध कुवेतको ७ गोल

विश्वकप फुटबलको छनोट खेलमा नेपाल पराजित, नेपालविरुद्ध कुवेतको ७ गोल
शुक्रबार, भदौ २०, २०७६

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा सात शुन्य गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो ।

जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । त्यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा दुई शुन्यले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१४औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतलाई पहिलो हाफमा दुई शुन्यको अग्रता दिलाएका थिए । दोस्रो हाफमा नेपालमाथि कुवेतले गोलको वर्षा गर्यो ।

खेलको ५१औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल कुवेतलाई तीन शुन्यको अग्रता दिलाए । ५९औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत चार शुन्यले अघि रह्यो ।

खेलको ८६औं मिनेटमा अल मुट्वाले गोल गर्दै घरेलु टोलीको अग्रता पाँच शुन्यको बनाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले दुई गोल खायो ।

इन्जुरी समयको चौंथो मिनेटमा हानिले गोल गर्दै कुवेतको अग्रता छ शुन्य र इन्जुरी समयको सातौं मिनेटमा मोसाविले गोल गर्दै कुवेतलाई सात शुन्यको को जित दिलाए । कुवेतसँगको यो फराकिलो हारसँगै समूह ’बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ ।

कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ ।

जोर्डनले चाईनिज ताईपेलाई २/१ गोल अन्तरले पराजित गरेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।