एसिड प्रहारबाट घाइते छात्रालाई काठमाडौं पठाइयो

title
शुक्रबार, भदौ २०, २०७६

काठमाडौं– वीरगंजमा आज विहान एसिड प्रहारबाट घाइते भएकी छात्रालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । छात्राको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भिक उपचारपछि चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका थिए।

शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

विरगंज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको हो ।

वीरगन्ज, छपकैया २ निवासी १५ वर्षीया खातुनमाथि दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारले छात्राको मुखदेखि मुनिको शरीरको दाहिने भाग जलेको जनाइएको छ । एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको प्रहरी नायव उपरीक्ष अन्नतराम शर्माले जानकारी दिए।

विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको थियो। घटनामा संलग्न छपकैया निवासी समसाद मिया पक्राउ परेका छन्।

घटनामा संलग्न समसादलाई पक्राउ गरिसकेको र अन्य एक युवक माजिदमियालाई प्रहरीले खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।