भारतीय तस्करको पैसामा नेपाली किसानको लागुऔषध खेती

४० भन्दा बढी जिल्लामा गाँजा र अफिम उत्पादन

title
शुक्रबार, भदौ २०, २०७६

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको विभिन्न स्थानमा गोप्य रुपमा गाँजा खेती भइरहेको सूचना पाएपछि बिहीबार स्थानीयबासीसहित प्रहरीको टोली उब्जाउ स्थल पुगेर गाँजा नष्ट गरेको छ ।

किस्पाङ गाउँपालिकका अध्यक्ष देवनारायण भट्टका अनुसार, किसानको कुढारदेखि खेतबारीमा हुर्किएका लागुपदार्थ गाँजाले समाजलाई आपराधिक क्रियाकलाप तर्फ लैजान सक्ने जोखिम बढेपछि सयुक्त रुपमा गाँजा फडानी अभियान चलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार, जनचेतनाको अभावमा नुवाकोटका गाउँघरमा जंगलसरह बनेका गाँजाका बोटलाई फडानी गरेर नष्ट गर्न जिल्लास्थित सुरक्षा निकायका टोलीले उच्च प्रथामिकता दिएर परिचालन भएको छ ।

नुवाकोटको गाँजा फडानी पछिल्लो उदाहारण मात्र हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङक अनुसार प्रहरीले पछिल्लो तीन बर्षको अवधिमा मात्र १ हजार २ सय ३५ विगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ भने २ सय ८५ विगा जग्गामा खेती गरेको अफिम नष्ट गरेको छ ।

आधाभन्दा बढी जिल्लामा लागुऔषधको खेती

लागुऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार, अहिले नेपालका आधा भन्दा बढी जिल्लाहरुमा लागुऔषधको खेती हुँदै आएको छ ।

जानकारहरु भन्छन् – पहिले पहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो । त्यसमध्ये तराइका केही जिल्लाका साथ मकवानपुर र धादिङ पर्थे । तर, अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछाप, लगायत पहाडी जिल्लामा ब्यवसायीक रुपमा गाँजाको खेती हुन्छ ।

यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लामा अफिम खेती हुने गर्छ । विश्लेषक त्रिपाठी भन्छन्– अहिले नेपालका आधा भन्दा बढी जिल्लामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागुऔषधको खेती हुन्छ । लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्यका अनुसार, अहिले नेपालको अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ ।

भारतीय तस्करको पैसामा नेपालीको खेती

जानकारहरुका अनुसार, नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुन्छ त्यसैले कृषकहरुले लुकिछिपी रुपमा अफिमको खेती गर्ने गरेका छन् । अनुसन्धान अनुसार, सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्छन् । अनि उनिअहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन् । नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्नकालागि विउ, मल देखि पैसा सम्म पहिले नै दिने गर्छन् ।

अहिलेकै जसरी जस्तै गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तान झैं लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ । हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागुऔषध वितरण गर्ने सञ्जाल भने देखिएको छैन । तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढिरहेको छ ।