चिनिया पर्यटकलाइ भिसा शुल्क नलाग्ने, नेपालमा लगानी गर्न मुख्यमन्त्रीहरूको आह्वान

title
शनिबार, भदौ २१, २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन ।

काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे ।

उनले सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकका लागि नेपालले प्रवेशाज्ञा शुल्क मिनाह गर्ने भएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीन र नेपाल सरकारका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरमा न्यानो सम्बन्ध स्थापित भएको बताए ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ व्यापारी तथा उद्योगपतिलाई लगानी बोर्ड नेपालका कार्यकारी निर्देशकको परामर्शमा लगानी गर्न आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेकाले चिनियाँ उद्योगपतिलाई लगानी गर्न आग्रह गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले चिया, रुद्राक्ष र अलैची उत्पादनमा लगानी गर्न आग्रह गरे । उनले किमाथान्का, ओलाङचुङ्गोला र सोलुखुम्बुको नाङपाला नाका सञ्चालनमा ल्याइनुपर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्नपथ्थर, जैविक मल कारखाना, मारवल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

नेपाल–चीन व्यापारसम्बन्धी फोरमका कार्यकारी अध्यक्ष फान जियाबाओले नेपालका लिच्छविकालीन राजा अंशुवर्माकी छोरी भृकुटी र तत्कालीन तिब्बतका राजा श्रङचङ गम्पोसँगको सांस्कृतिक सम्बन्धपछि नेपालसँग चीनको पारस्पारिक सम्बन्ध विस्तार हुँदै गएको बताए ।