ग्रिनहिल सिटीका घर मापदण्ड विपरित: बन्दा बन्दै यसरी भत्कियो (भिडियोसहित)

title
सोमवार, भदौ २३, २०७६

काठमाडौं । के तपाईं ग्रिनहिल सिटीका नाममा काठमाडौं उपत्यकामा बनेका घर किन्दै हुनुहुन्छ ? यदि त्यसो हो भने सावधान ! तपाईं पनि फस्नुहोला । एकरात परेको बर्षाका कारण ग्रिनहिल सिटीको बन्दै गरेको साढे ३ तले घर गल्र्याम गुर्लुम भत्किएको छ ।

सुरक्षीत र बलियो घरको अवधारणसहित मुलपानीमा हाउजिङ बनाई घर बेचिरहेको ग्रिनहिल सिटीको साढे तीन तले घर एक रात परेको बर्षाका कारण भत्किएको हो । गएको मंगलबार राति परेको बर्षाका कारण घर भत्किएपछि ग्रिनहिलले बनाएको घरको गुणस्तरियता माथि नै प्रश्न उठेको छ । जसका कारण हाउजिङ भित्रै घर निर्माण थालेकाहरुमा त्रसित बनेका छन् ।

भर्खरै बन्दै गरेको घर सामान्य पानी कै कारण किन भत्कियो त ? यो विषयमा नेपाल जिओटेक्निकल समाजले समेत स्थल गत अध्ययन गरेको थियो । जिओटेक्निकल समाजले गरेको प्रारम्भिक अनुसन्धान अनुसार, ग्रिनहिल सिटीका नाममा बनेका घरमा निम्न कमजोरी देखिएका छन् ।

ग्रिनहिल सिटीका त्रुटी

– घर निर्माण गर्दा गरिनुपर्ने पूर्व अध्ययन विना कै घर निर्माण गरिएको
– भुगोलको अवस्थामा ध्यान नदिएको
– पछाडीको भित्तोसागै टसाएर भिरालो क्षेत्रमा घर निर्माण गरिएको
– ईन्जिनियरिङ डिजाईनमा त्रृटी भएको

जिओटेक्निकल समाजका अध्यक्ष नेत्रप्रकाश भण्डारीका अनुसार, ग्रिनहिल सिटीले घरबनाउने अपनाउनु पर्ने मापदण्ड नअपनाएका कारण समस्या आएको हो । उनका अनुसार, यो घर त भत्कियो नै अन्य १०/१२ घरहरु पनि समेत जोखिममा छन् ।
स्थानीयबासीका अनुसार, मुलपानी स्थित यो हाउजिङ क्षेत्रमा प्लटिङ गर्नुअघि खोला, नाला, खहरेखोल्सा, खाल्डाखुल्डीलाई माटोले पुरेर ग्रिनहिल सिटीले हाउजिङ तयार पारेको थियो । हाउजिङभित्र जग्गा किन्नेलाई कुन ठाउा पुरेको र कुन ठाउाबाट माटो काटेर फालिएको सम्वन्धमा एकिन जानकारी समेत नभएका कारण हाउजिङ भित्रका घरमा जोखिम कायमै रहेको स्थानियहरु बताउाछन् । तर, ग्रिनहिल सिटीको यो घर निर्माण गर्दा ईन्जिनियरिङ पाटो हेरेका परियोजना प्रमुख गौरीशंकर झा भने, कार्यालयले पठाएको नक्सा र मापदण्ड अनुसार घर निर्माण गरिएको दाबी गर्छन् ।

परियोजना प्रमुख झाले ग्रिनहिल सिटीको बचाउ गरेपनि हाउजिङ्मा समस्या देखिइसकेको छ । उनले भने जस्तै मापदण्ड पुरा भएको र बलियो हुन्थ्यो भने कसरी भत्यिको त यो घर ? आम नागरिककको प्रश्न हो यो । यता घर भत्किएको सम्वन्धमा जानकारी लिन ग्रिनहिल सिटीको कार्यालयमा सम्पर्क गर्दा ग्रिनहिलका प्रतिनिधि सम्पर्कमा आएपनि हाउजिङले के कति कारण घर भत्किएको हो भन्ने बारे प्रतिक्रिया दिन भने मानेन् । यसरी घाम लाग्दा ओत र पानी पर्दा छत बन्नुपर्ने घर नै बर्षा कारण भत्किन थालेपछि अन्य ठुला प्रकोप थेक्न सक्ने आट ग्रिनहिल सिटीका घरबाट गर्न सकिएला त ?