भाईरल ज्वरोले जाजरकोटमा एक बालिककाको मृत्यु

भाईरल ज्वरोले जाजरकोटमा एक बालिककाको मृत्यु
सोमवार, भदौ २३, २०७६

जाजरकोट । भाईरल ज्वरोको प्रकोप फैलिएको जाजरकोटमा एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउपालिका ६, ताँसीधुमकी १४ बर्षीया आशा विकको भाईरल ज्वरोका कारण मृत्यु भएको हो ।

जाजरकोट जिल्ला अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि नेपालगंज तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक बालिका एक सातासम्म भाइरल ज्वरोबाट पिडित बनेकी थिइन् ।

बालिकाको ६ दिनसम्म जाजरकोट अस्पतालमा उपचार गरिएको थियो । जिल्लाको भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका स्थानमा भाइरल ज्वरोका विरामी रहेका छन् ।

दैनिक १ सय ५० बढी भाइरलका विरामी अस्पतालमा आउने गरेको अस्पतालका निमित्त प्रमुख डा. केशरजंग कार्कीले बताए । उपचारमा आउने अधिकांस बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने समस्या छ ।

जिल्ला अस्पतालका साथै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी उत्तिकै बढेका छन । भाइरल ज्वरोबाट साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

मौषम परिवर्तन, दुषित पानी, बासी खानेकुरा र सरसफाईको कमीले भाइरल ज्वरोको प्रकोप फैलिने गरेको डा. कार्कीको भनाई छ । विरामीको संख्या बढ्दै जाँदा जाजरकोट अस्पतालमा अहिले औषधी अभाव भएको छ भने विरामीको उपचारमा समस्या आएको छ ।