जापानमा शक्तिशाली तूफान, एक जनाको मृत्यु, चालिस भन्दा बढी घाइते

जापानमा शक्तिशाली तूफान, एक जनाको मृत्यु, चालिस भन्दा बढी घाइते
सोमवार, भदौ २३, २०७६

एजेन्सी । जापानमा आएको शक्तिशाली तूफानमा परी एक जनाको ज्यान गएको छ भने चालिस भन्दा बढी घाइते भएका छन । जापानको राजधानी टोकियोमा आज विहान आएको शक्तिशाली तूफानमा परी एकजना महिलाको ज्यान गएको हो ।

तुफानमा परि करिब चालिस भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । तूफानका कारण जापानको चिबा, कानागावा र सिजुओका प्रान्तमा नौ लाखभन्दा बढी घरहरुमा विद्युत अपूर्ति बन्द भएको जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् ।

तूफानले प्रभाव पार्न सक्ने सम्भावना बढेपछि जापानको हानेदा विमानस्थलका एक सय दस भन्दा बढी उडान स्थगित गरिएका छन् । इस्ट जापान रेलवे कम्पनीले टोकियोमा आफ्ना केही रेल सेवा बन्द गरेको छ ।

जापानको मौसम एजेन्सीले तूफानको गति प्रतिघण्टा दुई सय १० किलोमिटर मापन गरेको छ । जापानमा भारी वर्षाका कारण बाढी आउन सक्ने भएकाले तुफान प्रभावित क्षेत्रका वासिन्दालाई बाहिर नजान स्थानीय अधिकारीले सुझाव दिएका छन् ।