काठमाडौँमा शुरु भयो विद्युतीय बस सेवा

title
सोमवार, भदौ २३, २०७६

रुपेश यादव 

काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार देखि विद्युतीय बस सेवा सुरु भएको छ । निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्जमार्फत सार्वजनिक बस सेवा सुरु भएको हो । पहिलो चरणमा दुईवटा विद्युतीय बसमार्फ रिङरोडबाट सर्वसाधारणलाई सेवा दिने भएको छ ।

नेपालमै पहिलो पटक निजि क्षेत्रको बिद्युतीय सार्वजानिक बस संचालनमा आएको छ । नेपाल पुलिस क्लबमा आयोजना गरिएको कार्यक्रममा सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो । सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ ।

४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने व्यवस्था गरिएको बताएका छन् । सुपर चार्जिङ मेसिन भएकोले एक पटक चार्ज गरेपछि औसत २ सय ६८ किलोमिटर गुड्ने छ । चाडै थप ५ सय वटा विद्युतिय ट्याक्सी भित्र्याउने कामको प्रक्रिया आगाडी बढाईसकेका छन् । कानुनमा आवश्यक नितिनियम अभावका कारणले बिद्युतीय सामग्री भित्र्याउनका लागि धेरै नै सर्घष गर्नु परेको प्रालिको भनाई छ । र आगामी दिनहरुमा विद्युतिय सवारी संचालन गर्न छाती फुलाएर आगाडी बढ्ने सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले बताए ।

उनले भने,‘अहिले विद्युतिय सावारीको सहि मुल्याङकन छैन्, जसले गर्दा डिजेल, पेट्रोलबाट चल्ने गाडी चलाउनु पर्ने अवस्था छ ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुन्दर संस्थाले सुन्दर काम गरेको भन्दै प्रशंशा गरे । उनले भने,‘यो अत्यन्तै आकर्षक छ , उपयोगी छ र यो सुरुवात भएको छ । यसले आउने दिनमा नेपाली जनताको ध्यान आकर्षित गर्छ ।’

भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । विद्युतिय सवारी भित्र्याएकोले डिजल र पेट्रोलको खपतमा कमी आउने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए । पुनलाई सुन्दर यातातातको तर्फबाट विज्ञान तथा प्रविधिमा पुर्याएको योगदानको कदर गर्दै ११ हजार नगद पुरस्कार स्वरुप प्रदान समेत गरिएको थियो ।