डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड

डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड
मङ्लबार, भदौ २४, २०७६

काठमाडौं– पछिल्लो केही महिना यता मुलुकभर डेंगुको संक्रमण प्रकोपकै रुपमा देखा परेको छ ।

नौ दिनमा मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ ।

अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ ।

अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको जानकारी दिए ।

सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ । अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन् । अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिए ।

उनले भने, ‘अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छौं।’

समयमै उपचार गरे डेंगु सहजरुपमा निको हुने चिकित्सकहरु बताउँछन् । डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था नहुने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ । दैनिक ३ सयभन्दा बढी बिरामीहरु डेंगुको आशंकामा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुन बताउँछन् ।

‘अहिले डेंगुको संक्रमणले मानिसहरु त्रतिस बनेका छन् । शुक्रराज अस्पतामा बिरामीहरुको निकै भीड लागिरहेको छ,’ डा पुनले भने, ‘डेंगुको आशंकामा अस्पताल आउनेमध्ये आधा बिरामीमा संक्रमण पनि देखिएको छ, परिवारभित्रकै धेरै सदस्यमा डेंगुको समस्या भएर अस्पताल धाइरहेका छन् ।’

सरकारले डेंगु नियन्त्रणका लागि अभियानहरु शुरु गर्दै गरे पनि डेंगुका बिरामी अझै बढ्न सक्ने डा पुनको भनाइ छ । डा पुनका अनुसार डेंगुको प्रकोप अझै तीन महिनासम्म रहन सक्छ ।

‘डेंगुको प्रकोप जताजतै देखिएको छ, अझै दुई देखि तीन महिनासम्म प्रकोप देखिने सम्भावना छ,’ डा पुनले भने, ‘अब दशैं पनि नजिकिँदै छ दशैंको समयमा आवतजावत धेरै हुने भएकाले दशैंमा पनि प्रकोप देखिनसक्ने सम्भावन छ, त्यसैले सरकारले अब सम्भावित क्षेत्रहरुमा समयमै सचेत हुनुपर्छ ।’