चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता

title
मङ्लबार, भदौ २४, २०७६

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

दुई नेताबीचको भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनाका विषयमा छलफल भएको जनाइएको छ ।

काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड होटल मेरियट पुगेका थिए ।

आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यी त्यसयता राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त छन् ।

विदेशमन्त्री यी सोमबार दिउँसो नेपाल–चीन परराष्ट्रमन्त्री बैठकमा सहभागी भएका थिए । उक्त वैठकमा नेपाल र चीनबीच विभिन्न ३ वटा सम्झौतामा समेत हस्ताक्षर भएको थियो ।

विदेशमन्त्री यीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री यीले सत्तारुढ दलका अध्यक्ष प्रचण्डसँगको भेटवार्ता पछि प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।