पाैडेल र निधिलाइसँगै राखेर सभापति देउवाले भेटे चिनियाँ विदेशमन्त्री

title
मङ्लबार, भदौ २४, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् ।

भेटवार्ता क्रममा द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

सभापति देउवाले भेटघाटले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउँदै चीनले नेपालको पूर्वाधारलगायत क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेका थिए । उनले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भू–भाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।

सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेको र विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने र जानकारी दिएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए ।

भेटमा काङ्गे्सका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार यहाँ आएका थिए ।