चोरको निशानामा मोटरसाइकल, ३ वर्षमा ३ हजार हराए

चोरको निशानामा मोटरसाइकल, ३ वर्षमा ३ हजार हराए
बुधबार, भदौ २५, २०७६

काठमाडौं । राजधानीको जाममा छिटो छरितो सवारी मानिन्छ मोटरसाइकल । यही कारण पनि राजधानीमा मोटरसाइकल प्रयोगकर्ता बढ्दै छन् । यो सँगै मोटरसाइकल चोरको गिरोह पनि सक्रिय बन्दै गएका छन् ।

यसरी हुन्छ चोरी

राजधानीबाट चोर्ने, विभिन्न नाका हुँदै दुर्गम ग्रामिण भेगमा पुर्‍याउने अनि, प्रहरीको कम उपस्थिति हुने स्थानमा निर्धक्क साथ कुदाउने गरिएको पाइन्छ । हो, अहिले पनि यो प्रक्रिया चलिरहेकै छ मोटरसाइकलको हकमा । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेल राजधानीबाट मोटरसाइकल चोरी हुने घटना बढेको स्वीकार गरे ।

उनका अनुसार, महाशाखामा आर्थिक बर्ष २०७३/७४ मा महाशाखामा ५ सय ४४ वटा मोटरसाइकल हराएको उजुरी परेको थियो । तर आर्थिक बर्ष २०७४/७५ मा यो संख्या बढेर १ हजार १४ वटा पुग्यो । गत आर्थिक बर्षमा मात्र १ हजार ३ सय ८१ वटा मोटसाइकल हराएको उजुरी प्रहरीमा छ ।

त्यसो त महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणका लागि छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । अनि, चोरी भएका केही मोटरसाइकल पनि फिर्ता गरेर सम्बन्धित धनिलाई जिम्मा लगाएको छ ।

सोमबार मात्र पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएपछि भेटिएका १७ वटा मोरसाईकल धनिलाई जिम्मा लगाएको छ । त्यसैगरी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम ढकालका अनुसार, उपत्यकाबाट चोरी हुने मोटरसाइकल राजमार्गबाट बाहिरिएर काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरुमा पुग्ने गर्छन् । चोरहरुले प्राय जसो यी जिल्लाको पनि दुर्गम स्थान पुर्‍याउने गरेका छन् । प्रहरी सक्रिय भएका ठाउँमा पक्राउ पर्ने डरले उनीहरु प्रहरीको कम उपस्थिति हुने गाउँमा पुर्‍याउने गरेको पाइन्छ ।

अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने धेरैजसो बजाजको पल्सर, होन्डाको साइन, यामाहाको एफ जेड, आर वान फाइव जस्ता मोटरसाइकल बढी चोरी भएका छन् । प्रहरी अनुसन्धान अनुसार, पहिले पहिले राजधानीमा चोरी भएका मोटरसाइकल यही बेचबिखन हुन्थ्यो भने अहिले नम्बर प्लेट फेरेर दुर्गम पहाडी जिल्लामा चलाउन थालिएको छ ।

यसबाहेक केही मोटरसाइकल चोरीमा संलग्नहरुले टुक्रापारी पार्टहरु उपत्यकाका आसपासका वर्कशपमा बिक्री गर्ने गरेको रहस्य पनि बाहिर आएको छ । त्यसैगरी पुराना पार्टपुर्जामा नयाँ बडी राखेर बेच्ने गरेको पनि पाइएको छ । वर्कसप खोलेर बसेकाहरु नै अप्रत्यक्ष रुपमा चोरीमा संलग्न हुने गरेको प्रहरीको अनुमान छ ।

मोटरसाइकल भेटिएपनि पक्राउ पर्दैनन् चोर

पछिल्लो तीन आर्थिक वर्ष महानगरीय ट्राफिक प्रहरी महाशाखामा चोरीका ६ सय २२ वटा बाइक फेला पारी सम्बन्धित सवारीधनीलाई बुझायो । तर, जम्मा २८ जना मात्र चोरी आरोपमा पक्राउ परे ।

किन पक्राउ पर्दैनन् त मोटरसाइकल चोर ? प्रहरीका अनुसार चोर फेला नपर्ने धेरै कारण छन् । हराएकामध्ये नम्बर प्लेट परिवर्तन नगरिएका मोटरसाइकललाई चालकविना पनि प्रहरीले नियन्त्रणमा लिन्छ । ‘ब्लु बुक र लाइसेन्स दुवै नभएको अवस्थामा प्रहरीले परिस्थितिअनुसार मोटरसाइकल मात्र वा चालकलाई पनि नियन्त्रणमा लिन्छ । यसले गर्दा पनि चोर नभेटिने समस्या बढेको छ ।

उखान नै छ – आफ्नौ थैलो राम्रो सँग बन्द गर्नुस् अरुलाई चोरको दोष लगाउनै पर्दैन । हो सवारी धनि आफै सचेत भएको अवस्थमा केहि हद सम्म चोरी नियन्त्रण हुन सक्छ । अनि प्रहरीले पनि थप चोरी नियन्त्रणका लागि थप सक्रियता बढाउनु आवश्यक देखिन्छ ।