साना दलले संविधान दिवसलाई कालो दिन मनाउने

साना दलले संविधान दिवसलाई कालो दिन मनाउने
बुधबार, भदौ २५, २०७६

सरकारले संविधान दिवस मनाउन आह्वान गरेको फाइल तस्वीर

काठमाडौं । सरकारले संविधान दिवसलाई विशेष दिनका रुपमा मनाउने तयारी गरिरहेका बेला साना दलले भने कालो दिनका रुपमा मनाउने तयारी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा/मितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् ।

विविधतायुक्त नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित परिवर्तनको मुद्दालाई कुल्चेर संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको समेत मूल मर्म र भावनाविपरित बेइमानीपूर्वक जबर्जस्त रुपमा खुनी संविधान जारी भएकोले आफूहरुले संविधान दिवस नमनाउने उनीहरुको स्पष्टोक्ति छ।

संविधान संशोधन भएर आफूहरुका माग सम्बोधन नभएसम्म संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने पनि उनीहरुको दाबी छ । कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आफूहरुको अबको लडाई सरकारसँग रहेको चेतावनी दिए ।

ओली सरकार दमनकारी बाटोतर्फ उन्मुख रहेको उनको टिप्पणी थियो । उनले असोज ३ गतेको संविधान दिवसलाई आफूहरुले प्रर्दशनका साथ कालो दिनको रुपमा मनाउने चेतावनीसमेत दिए ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे । संविधान जारी हुँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुले संविधान संशोधनको लागि आश्वासन दिएपनि अहिले चार वर्ष बितिसक्दा पनि संविधान संशोधन नहुनु दुःखद भएको उनको टिप्पणी छ ।