कडा कानून बनाएर महिला हिंसा रोक्न सरकारको ध्यानाकर्षण

title
बुधबार, भदौ २५, २०७६

काठमाडौं । समाजमा महिला हिंसाका घटना बढेको भन्दै हिंसाका घटना रोक्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले बनेको कानूनको पनि प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा अराजकता फैलिएको आरोप लगाए ।

बैठकमा आफ्नो धारणा राख्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएकोले सरकारले गम्भीर रुपमा सुरक्षा व्यवस्था गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन् ।

नवलपरासीमा कार्यालय हिडेकी युवती माथि १० जनाको समुहले सामुहिक बलात्कार, रसुवाका ११ र ६ बर्षीया बालिकाको बलात्कार भएको भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गरिन् ।

अर्की सांसद मुक्ताकुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरेर भएपनि अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न माग गरिन ।

सांसद नैनकला ओझाले मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ बर्ष देखि काम शुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन ।