नामको मात्रै भयो सरकारले चलाएको सुपथ मूल्य पसल

नामको मात्रै भयो सरकारले चलाएको सुपथ मूल्य पसल
बुधबार, भदौ २५, २०७६

सिर्जना मिश्र
काठमाडौँ । सरकारले नेपालीहरुको महान चार्ड दशैं, तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

जनतालाई सहुलियत दिने उद्धेश्यले सोमबारदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलमा राखिएका सामानको मूल्य अन्य बजारमा जस्तै बढी रहेको गुनासो बढ्न थालेको छ । तर, सरकारी संयन्त्रले भने बजार मूल्यभन्दा सुपथ पसलमा पाइने सामान सस्तो पर्ने दाबी गर्दै आएका छन् ।

गत सोमबारदेखि काठमाडौं उपत्यकाका ५ स्थान र उपत्यका बाहिरका १८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन् । नेपालीले मनाउने महान पर्व दशैं, तिहार तथा छठलाई लक्षित गरी वाणिज्य, आपुर्ति तथा उपझोता संरक्षण विभागले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सञ्चालन गरेका सुपथ पसलहरु झतपुर, जावलाखेल, थापाथली, रामशाहपथ, नख्खुमा राखिएको छ । सुपथ मुल्य पसलमा नुन, तेल, चिनी, चामल लगायतका दैनिक उपभोग्य बस्तु राखिएको छ ।

यी सामान खरिदमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ । तर, उपझोताहरुले भने सुपथ मुल्य अन्य बजारको तुलनामा सस्तो र सुलभ नभएको बताएका छन् । सुपथ मुल्य पसलमा भेटिएका रत्न मानन्धरले भने,‘ सुपथ मूल्य पसलमा बाहिरको पसल भन्दा सस्तो मूल्यमा सामान पाईएको छैन ।’

बासमती चामलसहितका चामल तथा कर्णालीको सीमि सहितका दाल राखिएको सुपथ मुल्य पसलमा प्याकेट र बोराको सामान किन्दा ५ देखि १० रुपैयाँ र खुद्रा सामानको खरिदमा २ रुपैयाँ छुट दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दाबी छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अञ्चल प्रवन्धक रणबहादुर बुढाथोकीले भने,‘१५—२० वर्ष देखि सञ्चालन गर्दै आएको सुपथ मुल्य पसल केहि वर्ष यता सिस्टमेटिक नभए पनि हाल सञ्चालन भएको सुपथ मुल्य पसल सर्वसाधारणले गुनासो गरे जस्तो सहुलियत नै नभएको अवस्था होइन ।’