नुवाकोटका नदी र खोलामा अवैध बालुवा उत्खनन्, २१ वटा स्काभेटर नियन्त्रणमा

नुवाकोटका नदी र खोलामा अवैध बालुवा उत्खनन्, २१ वटा स्काभेटर नियन्त्रणमा
बिहिबार, भदौ २६, २०७६

नुवाकोट । नुवाकोटका नदी र खोलामा अवैध रुपमा बालुवा उत्खनन्मा संलग्न स्काभेटर प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैध रुपमा बालुवा उत्खनन्मा संलग्न रहेका स्काभेटर रोक्न चुनौती देखिएपछि कारवाही स्वरुप यो वर्ष नियन्त्रणको लागि नयाँ तरिका अन्तरगत साङ्ला लगाएको हो ।

नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्कोभटरमा साङ्ला लगाएको प्रहरीले जनाएको छ । नदीजन्य सामाग्रि सम्बन्धि जिल्ला स्थित संयुक्त अनुगमन टोलीले स्थलगत रुपमा गरेको अनुगमन तथा अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खनन्मा संलग्न स्काभेटर कार्यक्षेत्रमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पु लगायतका खोलामा अवैध रुपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढेपछि नियन्त्रणका लागि दवाबमा परेको प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर नियन्त्रणको प्रयास गरेको हो । नदी र खोलामा जारी रहेको उत्खनन् रोक्न प्रहरीले नयाँ स्वरुपमा सक्रियता चलाएपनि कारवाही अझै प्रभावकारी नभएको गुनासो स्थानीयबासीको छ ।