कर्णालीमा छैनन् सहुलियत पसल

कर्णालीमा छैनन् सहुलियत पसल
बिहिबार, भदौ २६, २०७६

अञ्जना लामिछाने
काठमाडौ । नजिकिँदै गरेका ठूला चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा अति आवाश्यक खाद्यान्न उपलव्ध गराउन सरकारले शहरी क्षेत्रमा धमाधम सहुलियत पसल सञ्चालन गर्न थालेको छ ।

सरकारले दशैं अघि नै विभिन्न जिल्लामा ७३ वटा सहुलियत पसल खोल्ने जनाएको छ । यता शहरी क्षेत्रमा सहुलियत पसल सञ्चालनमा आएपनि उता दुर्गम भेगका नागरिक भने समयमै खाद्यन्न ढुवानी नहुंदा अभावमा बांचिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गमका लागि आवाश्यक चामल लगायतका बस्तु ढुवानी भईरहेको जनाएपनि हुम्ला, जुम्ला, कालिकोट, मुगु जस्ता दुर्गम जिल्लामा खाद्यान्नको अभाव छ ।

सरकारले भने यता संघीय राजधानी काठमाडौंसहित मुख्य शहरी क्षेत्रमा दशैं–तिहार र छठमा अत्याधिक खपत हुने खाद्यान्नको सहज आपूर्ति तथा मुल्य बृद्धि नियन्त्रणका लागि सुपथ मूल्य पसल सञ्चालमा ल्याएको जनाएको छ ।

राष्ट्रिय पर्वमा उपभोक्तालाई सहज, सरल र सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलव्ध गराउन सुपथ मूल्यका पसल देशभर ७३ स्थानमा सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

भदौ २३ गतेबाट कात्तिक १६ गतेसम्म खुल्ने सुपथ मुल्य पसल साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रवन्धक ब्रजेशकुमार झाले जानकारी दिए ।

सुपथ मुल्य पसल सञ्चालनको जिम्मा सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थालाई दिएको छ । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने विभागीय प्रवन्धक ब्रजेशकुमार झाको दावी छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौंमा ३ वटा घुम्ती पसल सोमबारबाटै सञ्चालनमा आएका छन् भने अब साल्ट ट्रेडिङले देशभर ३५ वटा यस्ता पसल सञ्चालन गर्नेछ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छन् ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्नेछ ।

यस्तै उपत्यका बाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्नेछ । उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायतका शहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने छन् । तर सरकार मातहतका निकायले मुल्य नियन्त्रण र उपभोक्ताको सहजताका लागि खोल्ने अधिकांश पसल शहरी क्षेत्रमा केन्द्रित छन् ।

रामशाह पथमा परिक्षणका रुपमा यही साता सञ्चालनमा आएको पहिलो एकीकृत सहुलियत पसलमा नून, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा बिक्री भईरहेको छ ।

यता शहरमा सरकारले सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुटमा पाईने उद्ध्घोष गरेपनि उता दुर्गममा भने चाडपर्वको समयमा खाद्यान्नको मुल्य रातारात उकालो लागिरहेको छ ।

यो समस्याबाट मुख्यगरि देशको २२ प्रतिशत भुगोल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिकले बर्षौंदेखि भोग्दै आएका छन् । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुलुकका दुर्गम भेगका लागि पनि आवाश्यक खाद्यान्न ढुवानी भईरहेको जनाएको छ ।

कम्पनीका अञ्चल प्रवन्धक रणबहादुर बुढाथोकीले नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका स्थानबाट दुर्गम जिल्लाका निम्ति आवाश्यक खाद्यान्न ढुवानी भईसकेको र यसवर्षको चाडपर्वमा कतैपनि खाद्यान्न अभाव नहुने दावी गरेका छन् ।

कम्पनीका अनुसारलगातारको झरि तथा बाढी पहिरो जस्ता मौसमी प्रतिकूलताका कारण दुर्गमका केहि जिल्लामा भरिया तथा खच्चडबाट धमाधम खाद्यान्न पुर्‍याउने काम भईरहेको छ ।