सनी लियोनीको शीर्ष भूमिकामा नेपाली फिल्म बन्ने

सनी लियोनीको शीर्ष भूमिकामा नेपाली फिल्म बन्ने
शुक्रबार, भदौ २७, २०७६

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतमा आइटम नृत्य गरेर चर्चामा रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई शीर्ष भूमिकामा अनुबन्ध गरेर नयाँ फिल्म निर्माण गरिने भएको छ । ‘पासवर्ड’ का निर्मातामध्येका एक अमीत बस्नेतले सनीलाई शीर्ष भूमिकामा लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरे ।

बिहीबार राजधानीमा भएको प्रिमियर शोको कार्यक्रममा बोल्ने क्रममा उनले ‘ब्रेकिङ न्यूज’ भन्दै अर्को चलचित्रमा सनी लियोनीको शीर्ष भूमिका रहने बताए ।

‘तपाईंहरुका लागि एउटा ब्रेकिङ समाचार छ, हामीले अर्को चलचित्रमा सनी लियोनीलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नेछौँ, उक्त चलचित्रको पूरै छायांकन लण्डनमा हुनेछ,’ उनले भने ।

यता सनीले पनि आफू नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आएकी छिन् । उनले चलचित्र ‘पासवर्ड’ को गीतमा आफूले आइटम डान्स गर्न पाउँदा खुशी लागेको र नेपाल आफ्नो मन पर्ने देश भएको बताइन् ।

प्रिमियर शोमा भारतबाट आएकी सनी नै मुख्य आकर्षण बनेकी थिइन्।

यद्यपि प्रिमियरमै अर्को प्रोजेक्टको घोषणा गरिए पनि यो चलचित्र बन्नेमा भने शंका गरिएको छ । यता चलचित्र ‘पासवर्ड’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । धेरैले चलचित्रको कथा चित्तबुझ्दो नभएको र सम्पादन पनि राम्रोसँग नगरिएको प्रतिक्रिया दिएका छन् ।