ओसामाविनका छोरा मारिएको पुष्टि गर्दै ट्रम्पले भने–प्रतिआतंकवाद कारबाहीमा मारिए

ओसामाविनका छोरा मारिएको पुष्टि गर्दै ट्रम्पले भने–प्रतिआतंकवाद कारबाहीमा मारिए
शनिबार, भदौ २८, २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको ‘अफगानिस्तान र पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् ।

तर, ट्रम्पले हम्जा बिन लादेनको मृत्यु भएको समयबारे केही उल्लेख गरेका छैनन् । ‘हम्जाको मृत्युले अलकायदाको नेतृत्वलाई मात्र नभइ उक्त समूहको महत्वपूर्ण गतिविधिलाई पनि कमजोर पर्ने छ’ अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको बयानमा भनिएको छ ।

गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।