संविधान दिवसकै दिन भ्रष्टाचार विरोधी अभियान शुरु हुने

संविधान दिवसकै दिन भ्रष्टाचार विरोधी अभियान शुरु हुने
आइतवार, भदौ २९, २०७६

सन्तोष विके थापा
काठमाडौं । देशको सवैभन्दा ठुलो दुश्मन राजनैतिक भ्रष्टाचार हो भन्ने मुल मान्यताका साथ निर्मल लामा स्मृति प्रतिष्ठान नेपालले देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियानको घोषणा गरेको छ ।

काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै असोज ३ गते संविधान दिवसकै अवसर पारेर अभियानको सुरुवात गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पहिलो चरणको अभियान अन्तर्गत प्रतिष्ठानले सातै प्रदेशमा अभियान संचालन गर्ने प्रतिष्ठानकी महासचिव शशि श्रेष्ठले बताउनु भएको हो ।

महासचिव श्रेष्ठले भन्नुभयो –“१९ बर्ष अघि मुलुकको भ्रष्टाचार बेथितिलाई इड्डित गर्दै निर्मल लामाले पहिलो पटक भ्रष्टाचार विरुद्ध संघर्ष गर्न आम जनतामा अपिल गरेका कारण उहाँको सम्झना स्वरुप भ्रष्टाचार विरोधी अभियान शुरु गर्न लागिएको हो ।”

जनताको मुक्ति, राष्ट्रिय स्वाधिनताको जगेर्ना, समाजिक न्यायका लागि गरीव, किसान र सर्वहारा वर्ग एवम् देशभक्त जनताको राज्यसत्ता प्राप्तीका लागि लामाले जीवन अर्पण गरेका थिए । नेपालमा अहिले राज्यको सम्पती लुट्ने, घोसखोरी, कमिशन तथा ठगि गर्ने जस्ता घटनाहरु ह्वात्तै बढेको छ ।

जसमा सबैभन्दा ठुलो हिस्सा राज्यको पहुँचमा जोडिएकाहरुको छ । नीतिगत, प्रशासनिक, न्यायिक तथा राजनैतिक भ्रष्टाचारहरु देश जगडिएको भन्दै यसको प्रत्यक्ष अनुसन्धान र छानविन जनता स्तरबाट गरिने प्रतिष्ठानका अभियन्ता लिलामणि पोखरेल जनाउनु भएको छ ।

उहाँले भन्नुभयो –“६ बर्षअघि स्थापना भएको प्रतिष्ठानले असोज ३ गते नवलपुरबाट अभियानको सुरुवात गर्ने छ भने दोस्रो चरणको अभियान अन्तर्गत माथिल्लो तहमा नीतिगत दबावमुलक कार्यक्रम गर्ने तय भएको छ ।”

देशमा अहिलेसम्म हुदै आएको भ्रष्टाचारमा राजनैतिक व्यवस्थालाई मुख्य मेरुदण्ड मानिएको छ । राजनैतिक प्रणाली परिवर्तन भएपनि पुरानै मानसिकता र पुरानै व्यवहारका कारण भ्रष्टाचार निर्मुलीकरण बाटो होईन झनै बढवा पाएको प्रतिष्ठानका अध्यक्ष अमिक शेरचनको दाबी छ ।

उहाँले भन्नुभयो –“संसारका १८० देशहरुमध्ये नेपाल भ्रष्टाचार हुने देशको १२४ औं स्थानमा पर्दछ । देशको सवैभन्दा ठुलो दुश्मन मानिएको भ्रष्टाचारको मुख्य अड्डा भने राजनैतिक भ्रष्टाचारलाई मानिएको छ । भ्रष्टाचार अन्त्य नगरी देश र जनताले चयनको सास फेर्न पाउदैनन् भन्ने मुल मान्यताका साथ निर्मल लामा स्मृति प्रतिष्ठानद्धारा देशव्यापी भ्रष्टाचार विरोधी अभियानको घोषणा गरेका हौ ।”

हुनत नेपालमा विभिन्न कालखण्डमा भ्रष्टाचार विरोधी अभियान संचालन नभएका भने होईनन् । तर प्रगति शुन्य छ । नेपालको बदलिँदो परिस्थितिमा पनि भ्रष्टाचार जस्तो गम्भीर समस्यालाई संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार नै समाधान गर्नेतर्फ सरोकारवाला निकायहरू लाग्नुपर्ने कार्यक्रममा सहभागीहरुले जनाएका थिए ।