दशैं हिलाम्य हुने संकेत

दशैं हिलाम्य हुने संकेत
आइतवार, भदौ २९, २०७६

सिर्जना मिश्र
काठमाडौँ। सामान्यतया मनसुनी प्रभाव कम हुनुपर्ने मौषममा पनि मुलुकका विभिन्न भागमा बाढी–पहिरो र प्राकृतिक बिपत्तिका समाचार बाक्लै आईरहेका छन् ।

दक्षिण पुर्वी वायुको प्रभाव बढ्दा मुलुकका अधिकांश भुभागमा केहि दिनयता निरन्तर बर्षा भईरहेको छ भने पुर्वी तथा पश्चिमका धेरै भुभागमा पहिरो र बाढीका समाचार आईरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मीन कुमार अर्यालका अनुसार बुधबार यता नेपालमा निरन्तर मौषमी बदली देखिएको छ । मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमको अवस्थाबारे जानकारी दिँदै मौसमविद अर्यालले भने, ‘बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी पर्ने र यो क्रम अझै बुधवार सम्म कायम रहने छ ।’

बुधबार बेलुकीदेखि धेरैजसो ठाउँमा चट्याङसहित पानी परिरहेको छ । पहाडी भूभागमा पहिरो र नदीमा आकस्मिक बाढी आउने सम्भावना कायम रहेकाले हिँडडुल गर्दा सतर्क रहन महाशाखाले आग्रह गरेको छ । देशभरी सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भएकोमा विहिवार र शुक्रवार राति पनि पश्चिम तथा मध्य भागका अधिकांश र पूर्वका केही ठाउँमा यसको प्रभाव देखिएको हो ।

अर्यालका अनुसार शनिबार बिहानैदेखि विभिन्न भागमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र देशका थोरै ठाउँमा ७२ घण्टासम्म आंशिकदेखि सामान्य बदली देखिने बताएका छन् ।

मौसममा देखिएको परिवर्तन आईतवार पुर्वी नेपालमा र सोमवार पहाडी जिल्लामा भारी बर्षाका साथ देखिने छ । अगस्ट महिनामा औसत भन्दा कम बर्षा भएका कारणले यसको प्रभाव अहिले देखिएको हो । जसको प्रभाव यसबर्षको दशैंसम्म कायम रहनसक्छ ।