अधिकारबिहीन बालबालिकालाई छोएन बालदिवसले (भिडियो)

अधिकारबिहीन बालबालिकालाई छोएन बालदिवसले (भिडियो)
आइतवार, भदौ २९, २०७६

शान्ता लम्साल
काठमाडौं । ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ ५५ औं राष्ट्रिय बाल दिवस आज देशभर मनाइएको छ । तर बर्षेनी बालदिवस मनाईरहँदा बालअधिकार हननका घटना भने कम हुन सकेका छैनन् ।

बाल दिवसका अवसरमा बाल अधिकारको सुनिश्चितताको नारा स्थापित हुने गरी प्रधानमन्त्रीले शुभकामना दिइरहे पनि बाल अधिकार हननका घटना नेपालमा बिर्सनलायक नै छन । दिवस मनाउन थालेको ५५ बर्षमा समेत बालबालिकाबिरुद्ध शैक्षिक थलोमा हुने याताना देखि श्रम शोषणका घटना न्यूनिकरणमा उल्लेख्य प्रगति हुन सकेको छैन ।

बर्षदिनभित्र सरकारले काठमाण्डौ उपत्यकाका सडकबाट उद्धार गरिएका भनिएका १ हजार ११ जना बालबालिकाको संख्याले समेत यसलाई पुष्टाई गर्छ ।

सरकारी तथ्यांक अनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढि प्रदेश १ मा बालबालिका विरुद्धका घटना भएका छन । एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढि १ सय ३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन ।

जतिसुकै ऐन, नियम बनाउँदा पनि बालअधिकार हननका घटना नरोकिएपछि सरकारले त्यसलाई निरुत्साहित गर्न गुरुयोजना नै अघि बढाएको छ । तर त्यस्तो गुरुयोजनाले समेत बालिकामाथी हुने शोषण र विभेद अन्त्य हुनेमा सरकारी अधिकारीहरु नै ढुक्क छैनन ।

यद्यपी स्थानीय तहहरुलाई अधिकार प्रत्यायोजन गर्दै र समन्वय गर्दै बाल अधिकार स्थापित गर्न अग्रसर भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा बालबालिकामाथी विभेद र शोषणको अवस्था विद्यमान रहेको अधिकारकर्मीहरु बताउँछन । बालअधिकार हनन गर्नेहरुकाबिरुद्ध राज्य संयन्त्र कठोर हुन सके यस्ता दिवस औपचारिकताको घेराभन्दा बाहिर निस्कने अधिकारकर्मीहरुको ठहर छ ।

बाल दिवस मनाउन थालिएको ५५ बर्षभित्रै नेपाल संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धी पक्षधर राष्ट्रमा दर्ज भएको छ । त्यसयता बाल अधिकार स्थापित गर्ने नाममा नेपालले ‘आवासीय बालगृह सञ्चालन गर्न दिने देखि बालबालिकासम्बन्धी ऐन, आपतकालीन बाल उद्धार कोष सञ्चालन नियमावली, बालविवाहविरुद्धको रणनीति, बालन्याय कार्यविधि नियमावली, सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन लगायतका दर्जनौं ऐन नियम र कार्यविधि बनाएको छ ।

बाल अधिकार बर्षदिनमा मनाईने राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको घेरा भन्दा बाहिर निस्कन सकेको छैन । जसले भोलिका देश निर्माता भनिने आजको बालबालिकामाथीको अन्यायलाई उदांगो बनाइदिएको छ ।