संसदीय समितिले सरकारको नभै सरकारी कामको निगरानी गर्नेछ : सभामुख महरा

संसदीय समितिले सरकारको नभै सरकारी कामको निगरानी गर्नेछ : सभामुख महरा
सोमवार, भदौ ३०, २०७६

काठमाडौ । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानी मात्रै गर्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आज(सोमवार) भएको अन्तरकृयामा सभामुख महराले समितिले सरकारलाई नियन्त्रण नगर्ने स्पष्ट पारेका छन् । सभामुख महराले सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारवाही झनै प्रभावकारी हुने बताए । उहाँले संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि सरकारी तदारुकताको अपेक्षा राखे ।

सभामुख महराले संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए । उनले सांसदहरु कानुन निर्माणका लागि मात्रै चुनावबाट आए पनि निर्वाचनमा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि विकास निर्माणसँग जोडिएको बताए ।

कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना बनाएको बताए । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा सांसदहरुलाई प्राविधिक विषय बारे पनि ध्यान दिन सुझाव दिए ।