कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

कांग्रेसको विरोधपछि संसद बैठक स्थगित
सोमवार, भदौ ३०, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले आधा घण्टासम्म नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

त्यसअघिको सर्वदलीय बैठकमा संसद सञ्चालन गर्ने सहमति भएपछि शुरू भएको बैठकमा सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिएका थिए ।

संसदमा बोल्दै कांग्रेस सचेतक भुसालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताको हुलले गरेको आक्रमणबाट आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायत ६० जना नेता–कार्यकर्ता घाइते भएको बताइन् ।

भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले बोल्ने समय मागे ।

रोकाले कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको थियो ।

कांग्रेसले करिब आधा घण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बुधबार बिहान ११ बजे अर्को बैठक बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।