सरकारमै रहेको दल समाजवादी पार्टीले संविधान दिवस नमनाउने

सरकारमै रहेको दल समाजवादी पार्टीले संविधान दिवस नमनाउने
सोमवार, भदौ ३०, २०७६

काठमाडाैँ । सरकारमा रहेको दल समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने निर्णय गरेको छ ।

वर्तमान सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले घोषणा गरेभन्दा विपरित संविधान दिवसका दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

आगामी शुक्रबार पर्ने संविधान दिवस मनाउन सरकारले सबैलाई आग्रह समेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयोजक रहेको संविधान दिवस मुल आयोजक समारोह समितिले दिवसका रुपमा मनाउन आह्वान गरेपनि सरकारमै रहेको दल समाजवादी पार्टी भने कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीले जारी गरेको प्रेस विज्ञप्तीमा ‘संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिन दुवै नमनाउने’ उल्लेख गरिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस दिनमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

सरकारी नीतिविपरित हुनेगरी पार्टीले सात वटै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा अन्तर्क्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको हो ।