हामीले खोजेको प्रगति कि परिवर्तन ?

हामीले खोजेको प्रगति कि परिवर्तन ?
मङ्लबार, भदौ ३१, २०७६

प्रकाश गिरी

काठमाडाैँ ।  हामीले खोजेको परिवर्तन मात्र हो कि प्रगति ? यो सवाल आजको नेपालमा निकै अहम रहेको छ । केवल परिवर्तन आजको नेपालमा पर्याप्त छैन । यदि परिवर्तन नै पर्याप्त हुन्थ्यो भने नेपाल धेरै अघि बढिसकेको हुन्थ्यो ।

अब नेपाललाइ परिवर्तनको साथसाथै प्रगति पनि आवश्यक छ । तर,कस्तो प्रगति हामीले खोजेको हो ?यो कुरा सवैभन्दा पहिला निर्क्यौल हुन जरुरी छ । राष्ट्र त्यतिवेला बन्छ,जब त्यहा रहेका जनता सहभागी हुन्छन । जनता सहितको भुमिलाइ राष्ट्र भनिन्छ । यसकारण हामीले प्रगति चाहने हो भने जनता के चाहन्छन भन्ने कुरा हेक्का राख्नुपर्छ । किनभने परिवर्तन र प्रगति जनताको लागि गरिनुपर्छ । अन्यथा यस्ता प्रगतिको कुनै तुक रहन्न । तर,नेपालमा जनतालाइ कति सहभागी गराइन्छ ? वा,जनताको सहभागीतालाइ कति महत्व दिइन्छ ? यो प्रश्नको उत्तरमा नै राष्ट्रको उन्नति निर्भर हुन्छ ।

नेपालले राजनीतिक रुपमा थुप्रै परिवर्तन गरयो । एकतन्त्रीय जहानिया राणाशासन देखि,निरंकुश पञ्चायतकाल खण्ड,बहुदलीय संवैधानिक राजतन्त्रको कालखण्ड र गणतन्त्र नेपालको बर्तमान कालखण्ड । यी सवै राजनीतिक ब्यवस्थाका आ–आफनै राम्रा र नराम्रा पक्ष छन । तर भुल्न नहुने कुरा के हो भने यो राम्रो ब्यवस्था हो भने हरेक आन्दोलनले तय गरेपछि ल्याइएका ब्यवस्था हुन । अर्थात,एउटा आन्दोलनले वाकी राखेको कार्यभार अर्को आन्दोलनले पुरा गरेर ल्याएको उपलब्धि हो ।

पछिल्लो जनआन्दोलनले सहभागीतामुलक प्रजातन्त्रको माग गरेपछि अहिले नेपालमा समावेशी लोकतन्त्रको अभ्यास भइरहेको छ । आन्दोलनमा मात्र होइन,नीति निर्माण तहमा पनि जनताको प्रत्यक्ष सहभागीताको अभ्यास अहिले भइरहेको छ । यसैकारण राजनीतिक दलका नेताहरु यतिवेला गाउ गाउमा सिहदरवार भनेर जनतालाइ सेवा दिन तल्लो तहसम्म प्रशासनिक ईकाइ गठन गरिएको कुरा बताइरहेका छन । तर सवाल के हो भने के ती प्रभावकारी छन ? के तिनले जनताको सेवा गरेका छन ? वा आफनै सेवालाइ पहिलो प्राथमिकता दिएका छन ?

शासकलाइ जे सही लाग्यो त्यही मात्र गर्ने ब्यवस्थालाइ लोकतन्त्र भन्न सकिन्न । सत्ताको वागडोर जसले समातेको छ,उसले चाहे अनुसारको मात्र काम हुने ब्यवस्था हुकुमी ब्यवस्था हो । तर अहिले नेपालमा विधिको शासन छ । यसमा मन्टेस्क्युको सिद्धान्त अनुसार शक्तिको पृथकीकरण गरिएको छ भने हरेक गर्ने काम,दायित्व र जिम्मेवारी पनि तोकिएको छ । तर पनि जनतामा असन्तुष्टि किन छ त ? यो असन्तुष्टिको जड के हो ?

लाख रुपैया पर्ने सवाल के हो भने जनताले लडेर ल्याएको लोकतन्त्र छ । जनताले चुनेर पठाएको प्रतिनिधिले तिन तहको सरकारको अभ्यास गरिरहेका छन । तर,तिनै जनता चाहि गाउमा सिहदरवार होइन,सिंह पस्यो भनेर किन भन्दैछन ? अनि,दुइ बर्ष अघि मात्र जनताबाट खादा माला,सिन्दुरजात्रा गरेर जितेका जनप्रतिनिधिलाइ तिनै जनताले किन धारे हात लगाएर गाली गर्दैछन ।

यतिवेला दुइ तिहाइ नजिकको मत भएको सरकार छ । ठुलो जनमत भएको राजनीतिक दल संसदमा छ । उसले चाहदा जनप्रेमी नीति बनाउन पनि कसैले रोक्न सक्दैन भने त्यसलाइ कार्यान्वनको लागि तगारो लगाउने कुनै शक्ति पनि छैन ।

संसदमा यति कमजोर प्रतिपक्षी दल छ कि उसले विरोध गर्नैपर्ने विषयमा पनि मलिन आवाजमा सामान्य विरोध गरेर विपक्षी छ भन्ने धुकधुकी मात्र धानेर बसेको छ । सडकमा हिजो जस्तो कुनै न अराजक गतिविधि छ न कुनै वाधा र विरोध नै छ । अर्थात घरेलु वातावरण यति सुमधुर छ कि सत्तारुढ नेकपाले जे चाहयो त्यही हुने अवस्था छ । अर्न्तराष्ट्रिय परिस्थिति पनि प्रतिकुल छैन ।

तर,सवाल के हो भने यति मधुर वातावरण हुदा पनि सरकार जनताको मन जित्नेगरि किन काम गर्न सकिरहेको छैन ? बरु पछिल्ला दिनमा सरकार र स्वयम सत्तारुढ दल यो ब्यवस्थालाइ असफल बनाउन पश्चगामी शक्तिहरु सलवलाइरहेको,अराजक गतिविधिहरु भइरहेको भन्दै यसले विखण्डन ल्याउने त होइन भनेर सवाल गर्न थालेका छन । तर,यति बलियो जनमतको बलमा स्थापित भएको राजनीतिक दल किन पश्चगामी शक्तिले चलखेल गरिरहेको कुरालाइ ठुलो स्वरमा बताइरहेको छ । साच्चै यो देशमा ब्यवस्था परिवर्तन गर्न कुनै शक्ति क्रियाशील छन वा सरकार आफनो असफलताको भारी पश्चगामी शक्तिको टाउकोमा थोपरेर उम्किन खोजिरहेको छ ?

कैयौं राजनीतिक विश्लेषकहरु के भन्दछन भने सरकार आफनै वचनको भारीले किचिएको छ । चुनावको बखतमा र यसपछि उसले वोलेका सस्ता तर आकर्षक नाराको भारले सरकार यतिवेला निकै अप्ठयारोमा परेको छ । जनता अहिले तिनै वाचा किन पुरा भएन भनेर सरकारलाइ प्रश्न माथि प्रश्न गरिरहेका छन र सरकार यसको ठोस जवाफ दिन सकिरहेको छैन । यसैकारण,यतिवेला सरकार देशमा प्रतिगामी शक्ति हावी भएको बताइरहेको छ ।

तर,विशाल र भीमकाय नेकपा सरकार मात्र होइन,पार्टी पनि राम्रोसंग सञ्चालन गर्न सकिरहेको छैन । यसको असर के परेको छ भने सरकार र पार्टी विचको सम्वन्ध सुमधुर छैन । जनतासंग आशा र अविश्वासको सम्वन्ध जुन थियो त्यो पुर्णत अविश्वासमा परिणत भएको छ । यसले जनतामा निराशा र आक्रोश पलाउन थालेको छ । यहि आक्रोश अझ फैलियो भने अवस्था सोच भन्दा खराव हुन सक्छ ।