भिजिविलिटी नपुगेपछि त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द

भिजिविलिटी नपुगेपछि त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द
मङ्लबार, भदौ ३१, २०७६

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । विमानस्थलको भिजिविलिटी नपुगेर विमानस्थलमा अवतरण बन्द गरिएको त्रिभुवन विमानस्थलमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

अवतरण बन्द भएपनि उडानमा भने कुनै समस्या नरहेको क्षेत्रीले बताए । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

वायु सेवा कम्पनीहरुका अनुसार मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् । काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।