दिनभरको पानीले जलमग्न राजविराज

दिनभरको पानीले जलमग्न राजविराज
मङ्लबार, भदौ ३१, २०७६

एमके माझी
सप्तरी । अविरल वर्षाका कारण सप्तरीका राजविराजसहित विभिन्न ग्रामिण क्षेत्र डुबानमा परेका छन् ।

बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोडलगायतका क्षेत्र जलमग्न बनाएको हो ।

नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।

स्थानीय तहले विकास निर्माणका नाममा जथाभावी संरचना बनाउँदा तथा सडक निर्माण गरेपनि ढल तथा पानीको उचित निकास नगर्दा सामान्य वर्षामा पनि समस्या हुने गरेको राजविराजका व्यवसायी उमाकान्त साहले बताए ।

बर्षाको पानी निकास नपाउँदा नगरका राजविराजको वडा नं. ३, ४, ५, ७, ११ र १६ वडाका अधिकांश घरमा पानी पसेको छ ।

पसल तथा गौदामभित्र पानी पसेर लाखौंको सामानमा क्षति पुगेको व्यवसायी गोविन्द साहले बताए ।

सडकमा पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु पनि समस्यामा परे । पानीकै कारण मंगलबार कतिपय विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम थियो ।