५६ जिल्लामा संक्रमण फैलिएपछि डेङ्गुबारे बोल्यो सरकार, ‘नियन्त्रणबाहिर गएको छैन’

५६ जिल्लामा संक्रमण फैलिएपछि डेङ्गुबारे बोल्यो सरकार, ‘नियन्त्रणबाहिर गएको छैन’
बुधबार, अशोज १, २०७६

काठमाडौँ । सरकारले ५६ वटा जिल्लाका ५ हजार बढि डेङ्गु संक्रमित रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा डेङ्गु रोगका बारेमा जानकारी दिदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा संक्रमण देखिएको छ । उनले अहिलेसम्म यो वर्षमा डेङ्गुका कारण ६ जनाको मृत्यु भएको जानकारी समेत संसदमा जानकारी दिए ।

नेपालका लागि मात्रै नभएर विश्वकै लागि डेङ्गुको संक्रमण चुनौती बनेको छ । नेपालमा २०६१ सालमा पहिलोपटक चितवनमा डेङ्गु देखिएको मन्त्री यादवले जानकारी दिए । हरेक वर्ष संसारमा २९ करोडमा संक्रमण देखिने गरेको र २० हजारको मृत्यु हुने गरेको समेत तथ्याङ्क सुनाए ।

एसियाका सबै देशमा डेङ्गुको संक्रमण देखिएको भन्दै मन्त्री यादवले न्यून रुपमा मात्रै नेपालमा देखिएको भन्दै आपतकालिन स्थितीको घोषणा गर्नुपर्ने अबस्था नरहेको बताए ।

नियन्त्रणका लागि चुनौतीका रुपमा रहेको भएपनि सरकारले नियन्त्रण गर्न सक्षम रहेको मन्त्री यादवले बताए । जापानिज इन्सेफलाइटिसको नियन्त्रण गरेको स्मरण गर्दै मन्त्री यादवले हात्तीपाइलेको समेत नियन्त्रण गरेको दाबी गरे । मलेरियाको संक्रमणबाट मृत्यु हुनेको संख्या समेत घटेको भन्दै मन्त्री यादवले डेङ्गुको कुनै औषधी नभएको भन्दै लामखुट्टेको नियन्त्रण गर्न मात्रै सम्भव रहेको बताए । उनले लामखुट्टे नियन्त्रणका लागि स्थानीय सरकार समेतको सहभागितामा काम भइरहेको बताए ।

गतवर्ष डेङ्गु देखिएका जिल्लाहरुमा लामखुट्टे मार्न‘सर्च एण्ड डिष्ट्रोए’ अभियानका लागि संघीय सरकारले १ करोड ६६ लाख र ६ करोड १७ लाख प्रदेशमा पठाइसकिएको उनले बताए । उनले स्थानीय सरकारहरुले समेत ‘लामखुट्टटे खोज र नष्ट गर अभियान’ सञ्चालन गरिरहेको बताए ।