मुलुकको उपलब्धी भत्काउने प्रयास भएकाे छ : प्रधानमन्त्री

मुलुकको उपलब्धी भत्काउने  प्रयास भएकाे छ : प्रधानमन्त्री
बुधबार, अशोज १, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मुलुकको उपलब्धीलाई भत्काउन खोज्ने प्रयास भइरहेको आरोप लगाएकाछन ।

सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज(बुधवार) काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वले मुलुकको विकास भन्दा उपलब्धीलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि त्यसमा अल्मलिन नहुने बताए ।

उनले अहिले सबैको ध्यान मुलुकको समृद्धि र विकासमा हुनुपर्ने धारणा राखे । देशमा राजनीतिक उपलब्धि हाँसिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढंगले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने उनको भनाई छ ।उनले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित आज सातौं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो ।कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने सातै प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ साल मङ्सिर ८ गते हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको थियो ।