बाबा विश्वकर्माप्रतिको विश्वास र पूजाको महत्व

बाबा विश्वकर्माप्रतिको विश्वास र पूजाको महत्व
बुधबार, अशोज १, २०७६

शान्ता लम्साल
काठमाडौं- हस्तकलाको बेजोड ज्ञान भएका शिल्पकार तथा हतियार विज्ञ विश्वकर्माको सम्झनामा आज देशभर विश्वकर्मा बाबाको पूजा आराधना गरिएको छ ।

फलाम र फलामजन्य उपकरण तथा हातहतियारको निर्माण र प्रयोगको शुरुवात गर्ने विश्वकर्मालाई प्रत्येक वर्ष असोज १ गते सम्झना गरिन्छ । जहाँ कलकारखाना, ग्यारेज, धातुजन्य उपकरण, औजार तथा सवारी साधनको सरसफाइ तथा पूजाआजा पनि गरिन्छ ।

हात हतियार, धातुजन्य उपकरण तथा प्रविधिका ज्ञाता बाबा विश्वकर्माको पूजाआजा गरी सम्झना गरिएको छ । बाबा विश्वकर्माकै सम्झनामा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पुजा गरिन्छ ।

विश्वर्कमा पूजाका लागी बिहानैदेखि आफ्ना कलकारखाना, ग्यारेज, धातुजन्य उपकरण, औजार सवारी साधन लगायतको सरसफाई गरी पुजा गर्ने चलन छ ।

द्धापर युगमा भगवान कृष्णलाई राक्षसले दुख दिएपछि विश्वर्कमाले समुन्द्रको बिचमा ‘भेद द्धारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बिचमा ‘भेद द्धारका’ निर्माण गर्न सफल भएकाले उनलाई दक्ष वास्तुविद् मानी त्यसै समय देखि पुजाआजा गर्ने परम्परा बसेको जानकारहरु बताउँछन् ।

कलाकौशलका ज्ञाता ,सृष्टिको आरम्भ बाट नै देवीदेवताको लडाईमा चाहिने हातहतियार निर्माण गरेका विश्वर्कमाको औलौगिक, कला र शिल्प विद्याको क्षेत्रमा ठुलो भुमिका रहेको संस्कृतिविद माधव भट्टराईले बताए ।

विश्वर्कमाको पुजा गरेमा उनको जस्तै गुण आफुमा सर्ने जनविश्वास संगै फलामे औजारको पुजा गर्दा लामो समय सम्म टिक्ने विश्वास गरिन्छ । यस दिन सामानको दिगोपन र मुनाफाको कामना गर्दै पुजा गरेपछि दिनभर ती सामान नचलाउने अथवा प्रयोग नगर्ने चलन पनि छ ।

फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई कतिपय कलकारखानाहरुले विदा पनि दिने गरेका छन् । तराईबासीले धुमधामका साथ विश्वकर्मा पूजा गर्ने गर्दछन।

जनकपुर, महोत्तरी, सुनसरी लगाएतका जिल्लामा भव्यताका साथ मनाइन्छ । बर्षमा एक पटक विश्वर्कमा पुजा गर्दा आत्मा सन्तुष्टि हुने र विश्वर्कमाको सम्मान हुने उद्योगी व्यवसायी माधव केसीको भनाई छ ।

त्यसो त अर्का उद्योगी विनय गुप्ताले पनि बाबा विश्वकर्माको पूजाले आफ्नो उद्योग व्यवसाय फस्टाउने र व्यवसाय मजबुद रहने विश्वास व्यक्त गरे ।

विश्वकर्मा पूजाका दिन नयॉ सवारी किन्ने, सवारी साधन हुनेले विशेष पूजा गर्ने तथा विवाह, यज्ञ, गृह प्रवेशका लागि उचित साइतका रुपमा लिने गरिन्छ । विश्वकर्मा पूजाकै कारण कम सवारी साधन चल्ने भएकाले यात्रा गर्ने सर्वसाधारणलाई भने केहि असहज हुने गरेको छ ।