देशको मूल कानून संविधान कार्यान्वयनयमा पक्ष र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री

देशको मूल कानून संविधान कार्यान्वयनयमा पक्ष र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
शुक्रबार, अशोज ३, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरे ।