ठग दूध व्यापारीलाई पोस्दै सरकार

ठग दूध व्यापारीलाई पोस्दै सरकार
शुक्रबार, अशोज ३, २०७६

शान्ता लम्साल
काठमाडौं । भदौ २१ गते बाट लागु हुने गरी सरकारले दूधको मूल्य एक लिटरमा ६ रुपैयॉ बढाएपनि व्यापारीले स्थानीय ग्राहकसाग जथाभावी मुल्य असुली रहेका छन् ।

सरकारले मूल्य समायोजन गरेर हात बाँधेर बसेको छ तर ठग्न पल्केका काला बजारियाले दूधको मुल्यमा अतिरिक्त शुल्क जोडेर ठग्न छाडेका छैनन् ।

हुन त उपभोक्ता माथि हुने ठगी नेपालका सन्दर्भमा सामान्य जस्तै भईसकेको छ । हरेक उपभोग्य सामानको मुल्यमा व्यापारीको मनोमानी छ भने सरकार र राज्यका संयन्त्र त्यसको साक्षी मात्र बनिरहेका छन् ।

त्यसैको गज्जवको उदाहरण- दूधको मूल्य । सरकारले दूधको मुल्य समायोजन गरेर तोके भन्दा बढिमा कारोवार नगर्न सचेत पारेपछि दूधको प्याकेटमै मूल्य लेख्न थालिएको छ ।

तर अधिकांश व्यापारीले तोकिएको मूल्यमा कारोवार गरेका छैनन् । जवकी, दूध बेच्ने व्यापारीलाई सरकारले छुट्टै कमिशन तोकेको छ ।

सरकारले अहिले एक प्याकेटमा ३ रुपैयॉ मुल्य बढाएर ३८ रुपैयॉ पुर्याएको छ भने एक लिटरमा ६ रुपैयॉ बढेको छ ।

तर दूध व्यापारीले भने आधा लिटर अर्थात् एक प्याकेटमै २ रुपैयॉ बढि असुली रहेका छन् । जवकी, ४० रुपैयॉ अथवा त्यो भन्दा पनि बढि मुल्य असुल्ने व्यापारीले एक प्याकेटमा १ रुपैयॉ ६५ पैसा वैधानिक कमिशन पाउंने गरेको नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहाल बताउछन् ।

यसरी खुलेआम कालो बजारी किन त ? न सरकारले अनुगमन गरेको छ न व्यवसायी नै जवाफ दिन तयार छन् ।

एक लिटर दूधमा ३ रुपैयॉ ३० पैसा व्यापारीलाई कमिशन दिएर बास्तविक किसान माथि फेरि पनि अन्याय गरिरहेको सरकारले तोकेभन्दा बढी पैसा असुल्ने कसैलाई पनि कारवाहि गरेको छैन ।

उपभोक्ता अधिकारकर्मी तथा कन्जुमर आईका अध्यक्ष बिमला खनाल समेत त्यसको साक्षी बसेका छन् । बजारको बेथिति र ठगी बिरुद्ध अधिकारकर्मी समेत भुमिकाहिनि देखिनु अर्को संसयपूर्ण संयोग हो ।

चाडपर्वका बेलामा मात्र अनुगमनको नाटक गर्ने सरकारी निकाय र बर्षैभरी उपभोक्ता अधिकारको प्रवचन दिएर अलमलीने अधिकारकर्मी दुबैको भुमिका प्रभावकारी नबन्दा दिनदिनै बजार बिकृत बनेको छ ।

बजारमा भईरहेको कालो बजारी, मुल्य बृद्धि तथा अराजकता नियन्त्रणमा गम्भीर बन्नुपर्ने सरकारी निकायका अधिकारीहरु चाड पर्वको मुखमा अहिले बल्ल मौषमी अनुगमनको तयारीमा लागेका वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताएका छन् ।

संधै बिबादित् बन्दै आएको बजार अनुगमनको नाटक मुख्य रुपमा चाड पर्वको समयमा मञ्चन गरिन्छ । जिम्मेवार निकायहरु बर्षौंदेखि एक अर्कालाई दोशारोपण गरेर पन्छिने र काला बजारीलाई पोस्ने खेल मै तल्लिन छन् ।

यो उपभोक्ता चुस्ने र कालोबजारी पोस्ने प्रपञ्चको निरन्तरता हो । जुन, अहिले दूधको स्थानीय बजारमा देखिएको छ ।