पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध

पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध
शनिबार, अशोज ४, २०७६

खोटाङ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङले जनाएको छ ।

एकसता परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणले समेत बताउन सकेको छैन । दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

खोटाङ र ओखलढुङ्गामा बुइँपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ । दुई जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटकपटक अवरुद्ध हुने गरेको हो ।

पटकपटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा विद्युत् प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन् ।