क्यान निर्वाचनमा १७ पदका लागि २९को उमेद्वारी : ५ प्रदेश र एक महिला गरी ६ सदस्य निर्विरोध

क्यान निर्वाचनमा १७ पदका लागि २९को उमेद्वारी : ५ प्रदेश र एक महिला गरी ६ सदस्य निर्विरोध
शनिबार, अशोज ११, २०७६

काठमाडौं- साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने अनुमान गरिएको छ।

क्यानको नेतृत्वका लागि आज भइरहेको निर्वाचनमा १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले छ्ट्टाछुट्टै प्यानलसहित चुनावी प्रक्रियामा भाग लिएका छन्।

उपाध्यक्षमा राजुबाबु श्रेष्ठ र मिङ्मा डान्डु शेर्पा, महासचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेद्वारी परेको छ।

प्रदेश नम्बर-१ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट,  प्रदेश नम्बर-३ सदस्यमा अमितवीर पाण्डे र कैलाश प्रधानको उम्मेद्वारी परेको छ। यी दुई प्रदेश बाहेक बाँकी पाँच प्रदेशमा भने सदस्यहरु निर्विरोध भएका छन्।

प्रदेश नम्बर-२ बाट दाउद अन्सारी, प् गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश नम्बर-५ बाट प्रसान्तबिक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदुरपश्चिम प्रदेशबाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका हुन्। यस्तै जयन्ती भट्ट महिला सदस्यमा निर्विरोध भएकी छन्।

यस्तै खुला सदस्य तर्फ ११ जनाको उम्मेद्वारी परेको छ। जसमा अर्जुन पौडेल, वीरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक, जगतबहादुर टमटा, करन महोत्रा क्षत्री, माधवकुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल, प्रफुल्ल बैद्य र संजय राज सिंहले खुला सदस्यमा उमेद्वारी दिएका हुन्।

निर्वाचनमा ५९ जनाले मतदान गर्दैछन्। निर्वाचनको नतिजा घोषणा पौने ४ देखि ४ बजे भित्रमा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।