कप्तान पारसको कीर्तिमानी शतकसँगै सिंगापुर ९ विकेटले पराजित

टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने पारस पहिलो नेपाली खेलाडी

कप्तान पारसको कीर्तिमानी शतकसँगै सिंगापुर ९ विकेटले पराजित
शनिबार, अशोज ११, २०७६

काठमाडौं–कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई हराएको छ ।

शनिबारको खेलमा सिंगापुर ९ विकेटले पराजित भएको छ । नेपालको जीतका लागि कप्तान पारसले कीतिमानी शतक प्रहार गरेका छन् ।

ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् ।

टी–ट्वान्टी क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए ।

उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।

सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।

सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ ।

यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।