महँगियो दशैं, धान्नै गाह्रो बन्दैछन् चाडपर्व

दशैं नेपालीको परम्पार कि आर्थिक भार मात्र ?

महँगियो दशैं, धान्नै गाह्रो बन्दैछन् चाडपर्व
आइतवार, अशोज १२, २०७६

मेनुका श्रेष्ठ
काठमाडौं । नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । चाडपर्वका बेला हुने महंगी, कालोबजारी जस्ता गतिविधि नियन्त्रण गर्न सरकारको भुमिका भने प्रभावकारी देखिएको छैन । बजारमा व्यापारीको मनोमानी पनि उत्तिकै छ ।

त्यसोत, नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएस“गै बजारमा सर्वसाधारणको घुईंचो लाग्न थालेको छ । यही मौकामा व्यापारीले बढी मूल्य असुल्न थालेका छन । कालोबजारी नियन्त्रण गर्ने घोषणा गरेको सरकारले कानून अनुसार बजार अनुगम गर्न सकेको छैन ।

व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य रातारात बढाएका छन् । चाडपर्वको मौषममा अत्याधिक खपत हुने बस्तुको मुल्यमा सबैभन्दा बढी अराजकता छ ।

काठमाडौंको न्यूरोडमा किनमेल गर्न आएका सर्वसाधारण रेखा शर्मा, विमला चापागाई जति नै महंगी भएपनि चुपचाप सहनु परेको गुनासो गर्छिन् । वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरेर निरन्तर अनुगमन गरेको जनाएपनि त्यसले बजारको अराजकता तोड्न सकेको छैन ।

निश्चित् बजार क्षेत्रमा पूर्व सूचना दिएर हुने अनुगमनले सर्बसाधारणको समस्या सम्वोधन गर्न नसक्ने अभियान्ताहरु बताउंछन् । चाडपर्वको मौषममा अधिकारकर्मीहरुले नै मौकामा चौका हान्ने व्यापारीसंग मिलेर अनुगमन प्रक्रियालाई फितलो बनाउने गरेको सर्वसाधारणको गुनासो छ ।

त्यसैको परिणाम मौसमी अनुगमन व्यापारीका निम्ति क्लिन चिट लिने अवसर तथा अनुगमनमा खटिनेहरुका निम्ति अनुचीत् लाभ लिने अवसर जस्तो मात्र बनेको छ । उपभोक्ताले बजारमा सुद्धता, एकरुपता र जवाफदेहिता भेट्टाएका छैनन् उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।

उता, वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले भने दैनीक ८ वटा टोली बजार अनुगमनमा नियमीत खटिईरहेको दावी गरेको छ । जसमा विदेशबाट आयात गरिएका सामानको मुल्यमा बढी अनियमीतता फेला परेको छ ।

व्यापारीले एउटै वस्तुमा ३ सयदेखि ८ सय प्रतिशत सम्म मुनाफा राख्ने गरेको वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन् । विभागले चालु आर्थिक बर्षको समिक्षा अवधीमा, ४ सय १ जना व्यवसायीलाई कारबाही गरेको र त्यसबाट करिब २४ लाख राजश्व संकलन गरेको दाबी गरेको छ ।

तर विभागले भनेजस्तै आमसर्वसाधारणले भने त्यसको महशुस गर्न पाएका छैनन् । बिशेषगरि दशैं लक्षीत बजारमा, अखाद्य बस्तु, म्याद गुज्रिएको बस्तु, उत्पादन मिति नभएका तथा मुल्य निर्धारण नगरिएका बस्तुमा सबैभन्दा बढी उपभोक्रा ठगिएका छन् ।

चाडपर्वमा बढी कारोवार हुने जुत्ता, कपडा, फर्निचर तथा सजावटका सामानमा समेत मूल्यको कुनै निश्चितता छैन । सरकार भने नुन–तेल, मैदा र मसलामा मूल्य तोकेर बसेको छ ।