गाउँ फर्कंनेको लर्कोले दियो दशैंको झल्को

गाउँ फर्कंनेको लर्कोले दियो दशैंको झल्को
बिहिबार, अशोज १६, २०७६

बद्री पन्त
जाजरकोट । दशैंकै कारण शहर सुनसान बन्दै गर्दा गाउँघरमा भने चहलपहल बढ्न थालेको छ । अध्ययन, रोजगारी, व्यापारलगायतका कामका लागि घर छाडेर जानेहरु दशैं मनाउन घर फर्कन थालेपछि गाउँघरमा दशैंको बेग्लै रौनक शुरु भएको छ ।

उच्च शिक्षा, व्यापार व्यवसाय र जागिरको शिलशिलामा घर बाहिर रहेकाहर घर फर्कने क्रम शुरु भएको छ । दशैं मनाउन घर फर्कनेको यो लर्कोले जाजरकोटबासीमा नयाँ उत्साह र उमंग देखिएको छ ।

दशैं मनाउन दैनिक हजारभन्दा बढी स्थानीय जिल्ला फर्कन थालेका छन् । दशैंको टीका मात्र होइन दशैंमा हुने विभिन्न कार्यक्रम र उत्सवले झन रमाइलो थपेको बताउँछिन् नलगाड नगरपालिका ज्ञण् रग्दाकी मायाकुमारी सिंह ।

दशैंमा घर पुग्ने उत्साहले सबैलाई पुलकित बनाएको छ । सवारीमा हुने चापको वास्ता नगरी घर फर्कने बढेका छन् । उनीहरुको गुनासो छ चार्ड पर्वका बेला अरु व्यवस्था नभएपनि यातायातका साधन सहज पार्न सरकारले भूमिका खेल्नुपर्ने त्रिपुराकोट नगरपालिका डोल्पाकी रोशनी सिंहको माग छ ।

जाजरकोटमा गाडिको संख्या कम रहेको र यात्रुको चापलाई मध्यनजर गरेर यातायात व्यवसायीले गाडीको भरपुर व्यवस्था गरेर गरेर यात्रुलाई सुरक्षित गन्तव्यमा पुग्ने गरी व्यवस्था मिलाईएको थाप्ले टिकट काउन्टर जाजरकोटका इन्चार्ज प्रकाशजंग शाहीले बताए ।

नेपालगंज, छिन्चु, सल्लीबजार, चौरजहारी, खलंगा, रिम्ना, पाँचकाटीया मोर्कबजार, थलहबजार हुँदै घर फर्कनेहरुको संख्या बढ्दै गएको छ । दशैं मनाउन घरफर्कनेहरुले सल्लीबजार, छेडाबजार, फेराबजार, खलंगा, कालीमाठी, थलहबजार, रिम्नाबजार लगाएतमा दिनभर चहलपहल बढेको छ । स्थानीय बजार क्षेत्रमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ ।

खलंगा पाँचकाटीया सडकमा यातायातका साधन नचल्दा स्थानीयलाई सास्ती भएको छ । जाजरकोट सदरमुकाम खलंगा हुँदै डोल्पा र रुकुमका स्थानीय बासिन्दा समेत घर फर्कने गरेका छन् । यता जाजरकोट सदरमुकाम खलंगामा व्यवसाय गर्ने र अन्य मान्छेहरु गाउँतिर लागेपछि सदरमुकाम सुनसान बन्दै गएको छ ।