आश्रयविहिन बृद्धबृद्धा भन्छन – चाडवार्ड नै नआओस्

आश्रयविहिन बृद्धबृद्धा भन्छन – चाडवार्ड नै नआओस्
शुक्रबार, अशोज १७, २०७६

सोनी शाही

काठमाडौँ। यतिबेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ। बूढापाका भएका मान्यजनबाट टीका र आशिर्वाद थाप्न परदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागेको छ। यस अर्थमा दशैंले धेरैको घरमा मात्र हैनन मनमनमा खुशी भरिदिएको छ ।

तर, यही समाजमा केही यस्ता बृद्धाबृद्धा पनि छन्–जो आफन्तको हेयमा परेर आश्रयविहिन जीवन विताइरहेका छन् । यसरी आफन्तको सम्रक्षण बाहिर भएकाहरुको दशैं भने खल्लो भएको छ। तर, खल्लो दशैंलाई व्यवास्ता गर्दै उनीहरु हाँसेर दुःख लुकाउने प्रयास गरिरहेका छन् ।

विगत २० वर्ष देखि पशुपतिमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएकी ८७ वर्षीय लक्ष्मीदेवी थापा मिठो मुस्कान दिएर भन्छिन् – ‘सानै छँदा टुहुरो भएको , अरुको घरमा हुर्कदाहुकीँदै अहिले यो घरमा आइपुगे।’

दशैँमा घर नगई वृद्घाश्रममा नै बसेर दशैँ मनाउने उनी मात्र होइन। उनीसँगै बसेका एकसय ५० जना वृद्घवृद्घा मध्ये दशैँ मनाउन घर जानेहरु निकै थोरैको संख्यामा रहेका छन् । तर, उनीह्ररुको घर जान नपाउनुको कारण पीडा बयान गर्नै नसकीने छ ।

त्यतिमात्रै हैन वृद्धाश्रममा आश्रित केही वृद्धाहरु बत्ती काटेर बेच्छन् र आफ्नो लागि केही खर्च जुटाउँछन् । आफ्नो परिवार र घरबाट टाढा भएका उनीहरु भन्छन् – ‘दशैँमा याद गर्न को नै छ र ? कसैको पनि याद आउँदैन ।’

यस बृद्घाश्रममा आश्रित पर्वती सापकोटा भने यहाँ आएको २ वर्ष मात्र भएको छ । यस वृद्घाश्रममा बस्दा उनलाई रमाईलो लाग्ने बताए पनि चाडबाड आएसँगै उनि भक्कानिन्छीन । आसपास र बाटोको चहलपहलले खुशी त दिन्छ तर सँगसँगै मन भारी हुन्छ । न परिवार छ न त आफन्त नै ।

थापा त परिवाजन र आफन्त नभएकाले बृद्धाश्रम आइपुगिन । तर बृश्राश्रममा बस्नेहरु परिवारजन र आफन्त नभएकाहरु मात्र छैनन । परिवारजन भएका बुबा आमा समेत अपहेलीत हुँदै घरबाट निकालिएपछि बृद्धाश्रम सम्म पुग्न बाध्य भएका छन ।

अर्थात समाज कल्याण केन्द्रमा आश्रित एक सय ५० जना बृद्धाबृद्धाको कथा थरीथरीका छन् । कोही घरबाट निकाला भएका छन, कसैलाई सन्ततीले मार्न खोजेका छन, त कसैका आफन्त छैनन । घर भएकाहरु परिवारको बहिष्करणमा परेकाले घर जाने हिम्मत सम्म गर्न सकिरहेका छैनन् ।

समाज कल्याण केन्द्रले भने चाडबाडलाई घरपरिवारकै बाताबरण सृजना गर्ने कोशिस गरिएको जनाएको छ । दशैंमा जमरा राख्ने, टीका लगाउने, नयाँ पोसाक बितरण गर्ने तथा मिठो मसिनो खुवाउने चलनलाई निरन्तरता दिइदै आएको समाज कल्याण केन्द्र वृद्धाश्रम, पशुपतिका प्रशासन प्रमुख कृष्ण कँडेलले बताएका छन् ।