दशैंमा यात्रुको सकसपूर्ण यात्रा, काठमाडौंमा लोकल गुड्ने बस लामो दूरीमा गुड्दै

दशैंमा यात्रुको सकसपूर्ण यात्रा, काठमाडौंमा लोकल गुड्ने बस लामो दूरीमा गुड्दै
फाइल तस्वीर
शुक्रबार, अशोज १७, २०७६

काठमाडौं–दशैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले जोखिमपूर्ण रुपमा यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।

काठमाडौंमा चक्रपथ तथा स्थानीय रुटमा चल्ने सवारी साधनलाई नै व्यवसायीले लामो रुटमा सञ्चालन गरेपछि दशैंका लागि हिँडेका यात्रुले जोखिम बढ्ने भन्दै चिन्ता गर्न थालेका छन् ।

काठमाडौंमा गुड्ने नेपाल यातायातलगायतका कम्पनीका छोटा र साना बस नै अहिले लामो दूरीको साधनका रुपमा गुडाइएको काठमाडौंबाट बिर्तामोड जाँदै गरेका यात्रु कुलचन्द्र फोम्बोले बताए ।

यातायात व्यवसायीले दशैंमा हुने चहलपहलको फाइदा उठाउँदै यात्रुलाई ठगेको भन्दै दिउँसो ३ बजे हिँड्ने भनिएको गाडी साँझ आएको र त्यसमा पनि लामो दूरीका लागि स्थानीय रुटमा चल्ने बस लगाएको बताए ।

बसका कर्मचारीले आफूहरुबाट टिकट पनि फिर्ता लगेको उनले सुनाए । बिहान बिर्तामार्डबाट गाडी लिएर आएको चालकले नै फेरि गाडी गुडाउँदै गरेको भन्दै फोम्बोले ठूलो जोखिम लिएर यात्रा गरिरहेको बताए ।

यता प्रहरीले भने सवारीको अवस्था हेरेर मात्र लामो दूरीमा चल्न दिएको भन्दै यस्ता सवारीको अनुगमन हुने र बीच बाटोमा चेक गरिने जनाएको छ ।