जापान उडाइएको वाइडबडीले सञ्चालन खर्च पनि उठाएन

जापान उडाइएको वाइडबडीले सञ्चालन खर्च पनि उठाएन
शुक्रबार, अशोज १७, २०७६

काठमाडौं- नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ।

निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए ३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ । एक महिना (भदौ ११ देखि असोज १५ सम्म) मा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ ।

निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए ।

सबैभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।

यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन् । जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए ।

एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन । एउटा उडानमा करिब २ करोड ५० लाख बराबरको कारोबार भए मात्रै उडान सञ्चालन नाफा हुन्छ ।

निगमले प्रमोसनल फेयरका रूपमा प्रतिव्यक्ति ३७ हजार रुपैयाँमा टिकट बिक्री गरेकाले पहिलो महिनामा एउटा उडानबाट ७ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ ।

‘एकतर्फी उडानमा ३५ प्रतिशत इन्धन खर्च लाग्छ,’  निगमका एक अधिकारीले भने, ‘३५ प्रतिशत भनेको ७० लाख रुपैयाँ बराबरको इन्धन खर्च हो ।’

निगमलाई हाल जापानले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान अनुमति दिएको छ । पहिलो उडानमा यात्रुको संख्या अत्यधिक न्यून भएपछि निगमले भदौ तेस्रो सातादेखि सातामा दुइटामात्रै उडान राखेको थियो ।