हिंसा भड्कीन नदिन हङकङमा आजदेखि नयाँ नियम लागु, पहिचान लुक्नेगरि मास्क लगाउन बन्देज

हिंसा भड्कीन नदिन हङकङमा आजदेखि नयाँ नियम लागु, पहिचान लुक्नेगरि मास्क लगाउन बन्देज
शनिबार, अशोज १८, २०७६

एजेन्सी । हङकङ सरकारले आजदेखि मास्क लगाउन नपाइने नियम लागु गरेको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले मास्क लगाउन नपाइने नियम लागू गरेको हिजो घोषणा गर्दै आजदेखि कसैले पनि पहिचान लुक्ने गरि मास्क लगाउन र अनुहारमा रंग पोत्न बन्देज गरिएको बताएकी हुन् ।

केही दिनयता हङकङमा जारी आन्दोलन झनै हिंसात्मक बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न यो नियम ल्याएको ल्यामले बताएकी छन् । हङकङका सुरक्षा सचिव जोन लीले सार्वजनिक भेला, सभा, ¥यालीलगायतका कार्यक्रममा मास्क लगाउन नपाइने बताए ।

नियमअनुसार अनुहार रंगाउने पनि पाईने छैन । आपतकालिन नियमन अध्यादेश अन्तर्गतको यो नियम हङकङमा पचास वर्षपछि पुनः लागू गरिएको बताइएको छ ।

प्रदर्शनकारीले हङकङमा यो नियमको घोषणापछि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङमा झण्डै चार महिनादेखि भइरहेको आन्दोलनमा पहिचान लुकाउन र अश्रु ग्याँसबाट बच्न पूरै अनुहार ढाकिने गरी मास्क प्रयोग गर्दै आएका छन् ।