नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज ओमानमा सुरु हुदै‌

नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज ओमानमा सुरु हुदै‌
शनिबार, अशोज १८, २०७६

एजेन्सी । नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आजबाट ओमानमा सुरु हुदैछ ।

नेपालले विश्वकप छनौटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो । सिंगापुरमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो । नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको थियो ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ । युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।

नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेका कारण सहभागिता जनाउन लागेको हो । सिरिजको पहिलो दिन आज घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।